जिल्ला प्रशासन भित्रै बिचौलियाको जगजगी, एउटा अक्षर सच्याउन ८० हजार घुस

सराङकोट न्यूज
4 September, 2024 7:05 am
Advertisements

यदुनाथ बन्जारा

के तपाई जिल्ला प्रशासन कार्यालयमा सेवा लिन जादा सास्ती र हैरानी खेपिरहनु भएको छ । छ भने चनाखो रहनुहोला तपाईंलाई कर्मचारीले सास्ती दिएर थकित बनाउने छन र बिचौलिया रुपि गोमनको मुखमा पुर्याउने छन र कानुन बमोजिम हुने कामको लागि पनि मोटो रकम घुस लिएर तपाइँको काम तमाम गरिदिनेछन । गल्ती तपाइको नहुदा पनि सास्ती र क्षती तपाईं जस्ता सर्बसाधारण नागरिकले ब्यहोर्नु पर्ने हुन्छ ।
हो यस्तै एउटा प्रकरण जिल्ला प्रशासन कार्यालय कास्कीमा फेला परेको छ । दलाल र बिचौलिया मुक्त कार्यालयको पहिचान बनाउने उद्देश्यका साथ क्यु आर उजुरीको प्रबन्ध मिलाएका प्र जि अ भरतमणी पान्डेको कार्य नितिलाइ चुनौती दिने गरि आफ्नै कर्मचारीहरुले सेवाग्राहीलाई हैरान खेलाएर बिचौलिया मार्फत घुस लिएर मात्र काम गरि दिएको रहस्योद्घाटन भएको छ ।
काम ठूलो थिएन । गल्ती कमजोरी सेवाग्राहीको पनि थिएन । पोखरा १ निवासी मगर थरका एक युबाले नागरिकता हराए पछि प्रतिलिपी लिन पोखरा मनपा वडा कार्यालय १ बगरबाट अनुसूची फारम भरी जिल्ला प्रशासन कार्यालय कास्की पुगे ।बिदेश जान बाध्य उनको पासपोर्टको म्याद पनि सकिएको थियो । पासपोर्ट नवीकरणको लागि नागरिकताको प्रतिलिपी लिनु अनिवार्य थियो । उनको बुवा पनि बिदेशमानै रोजगारी गर्ने भएकोले छोराको कागज पत्र नागरिकता पासपोर्ट बनाइदिएर बिदेश फर्कन हतारिएका देखिन्थे ।
सेवाग्राही हतारिएको बाध्यता कर्मचारीले बुझेका थिए । तर सेवा दिएर गाठो फुकाउने काम कर्मचारीले गरेनन । बगरका ती सेवाग्रा निन्याउरो चेहरामा सिडिओ कार्यालय परिसरमा यो पङ्क्तिकार सङ्ग जंकाभेट भयो ।पुरानै चिनजानका मान्छे भएका कारण उनले गुनासो पोखे । फाइल बोकेर छोरा सङ्गै थिए उनी । उनले सबै फाइल खोलेर देखाए । सबै कागजपत्र ठिकठाक देखिन्थ्यो ।उनको नागरिकता अनुसार पासपोर्ट , एस इ इ बोर्ड ,उच्च शिक्षा बोर्ड का कागजात सबै ठिक थिए तर पनि उनको नागरिकताको प्रतिलिपी लिने प्रक्रिया अगाडि नबढेको रहेछ । कहिले वडा कार्यालय त कहिले जिल्ला प्रशासन कार्यालयमै फुटबल जस्तै बनेर हप्ता दस दिन भैसक्दा पनि नागरिकताको प्रतिलिपी बन्ने सुरसार नै नभएर आजित भएका थिए उनिहरु ।
सेवाग्राहीलाई साथै लिएर मैले प्रशासकिय अधिकृत अबिनाश कुवरलाइ भेटेर सबै समस्या बताए । त्यसो त सेवाग्राहीले पहिल्यै २/३ चोटि भेटेर अनुनय बिनय गरिसकेका रहेछन । मैले सनाखत गरिदिन्छु मिल्छ भने काम गरिदिएर पठाउन अनुरोध गरे तर कुवरले मानेनन । किन काम नहुने ? के छ यिनको गल्ती मैले जिज्ञासा राखे । जन्मदर्ताको ढड्डा अभिलेखमा नामको अन्तिम अक्षरको स्पेलिङ मिस्टेक छ कुवरले भने । बुझ्दा नाफरिकता बनाउने बेलामा पेश गरेको जन्मदर्ता प्रमाणपत्र जिल्ला प्रशासनको ढड्डामा चढाउदा डेभिड लेख्नु पर्नेमा डेभिट लेखिदिएका रहेछन त्यही ” ट” अक्षर मगर परिवारलाइ सास्तीको भारी बन्न पुग्यो दुख त पाए पाए ८० हजार रुपैयाँ पनि घुस दिन बाध्य पारिए।
ढड्डाको मिस्टेक सेवा प्रदायकबाट हुन्छ सेवाग्राहिबाट हुदैन सामान्य स्पेलीङ त्रुटि भएको अबस्थालाई लक्षित गर्दै राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण बिभाग काठमाडौले यस्ता सामान्य त्रुटी सच्याउन २०७९/०७/३० गते सबै जिल्ला प्रशासन ,इलाका प्रशासन कार्यालयलाई बोधार्थ दिई स्थानीय तहलाइ परिपत्र जारी गरेको छ नि भन्दा पनि त्यो कुरा सुनुवाइ भएन । यो कुरा दुई जना सहाएक प्रमुखलाई पनि बताइयो तर भएन । कानुन कार्यान्वयन गर्ने निकाय नै सेवाग्राही प्रती सकारात्मक नभएपछी हाम्रो रित्तो हातको आग्रहले कुनै काम नगर्दो रहेछ भन्ने महसुस गर्न बाध्य बनायो ।
उनिहरु निरास भएर बाटो लागे । एक हप्ता पछि बाटोमा जम्का भेट भयो मगर दाइ सङ्ग । उनले खर्च नगरी कामै भएन सर के गर्नु यो नेपाल यस्तै भएर यहाँ बस्नै मन लाग्दैन एक सासमा उनले आफ्नो गुनासो पोखे । किन दिएको त घुस मैले भने के गर्नु नत्र अनागरिक हुने भयो छोराको नागरिकताको प्रतिलिपी नबने पासपोर्ट बन्दैन पासपोर्ट नबने बिदेश जानै नपाउने नेपालमा कामै नहुने भएपछी हामी बाउछोरा थाकेर हाला भएर पैसा दिन बाध्य भएको हो हाम्लाइ पनि के रहर थियो र बिदेशमा पसिना बगाको पैसा यतिकै फाल्न उनले नेपाली हुनुको पछुतो भाव पोख्दै आफ्नो पिडा ब्यक्त गरे । तपाइले अनुरोध गर्दा पनि नभएपछि हाम्रो मनोबल गिरेको थियो त्यही बेलामा पैसा दिए काम गरिदिन्छौ भन्नेलाई बिस्वास गर्न बाध्य भैयो उनले भने।
सेवाग्राहिको भित्र सिधा पहुच पनि थिएन । यतिकैमा जिल्ला प्रशासन परिसरमा नेत्र ढकाल नाम गरेका बिचौलिया सङ्ग उनिहरुको भेट हुन्छ । सेवाग्राहीको छटपटाहट र सास्ती बुझेका नेत्रको टिमले काम गरिदिन्छौ भन्दै पैसाको मोलतोल गरे । एक लाख बाट सुरु भएको मोलमोलाइ ८० हजारमा आएर टुङ्गिन्छ । अच्युत कट्टेल र नेत्र ढकालको हातमा पैसाको बिटो र फाइल हात पर्छ । यो लेनदेन जिल्ला प्रशासन कार्यालय भित्रै भएको खुलेको छ उनिहरु( कट्टेल र नेत्र ढकाल ) भित्र पस्छ्न कसलाइ भेट्छन के गर्छन सेवाग्राहीलाई केहि थाहा हुन्न एकै पटक नागरिकताको प्रतिलिपी बनेर आएपछी सहि गराउछ्न र नागरिकता पाउँछन् सेवाग्राहीले।
सेवाग्राहिको काम त आखिर हुनेनै रहेछ , मिल्नेनै रहेछ पन्जिकरण बिभागको परिपत्र बमोजिम बाधा अड्काउ फुक्नेनै रहेछ तर किन चल्यो आर्थिक लेनदेन ? बिचौलिया र कर्मचारिको नेक्सस कति बलियो हुने रहेछ भन्ने यो एउटा नमुना प्रकरण बनेको छ । पैसा लिएर काम गरिदिने बिचका मान्छे अर्थात बिचौलिया नेत्र ढकाल सङ्ग सम्पर्क गरि प्रतिक्रिया लिदा उनले पैसा लिएर कर्मचारी साथी मार्फत काम गरिदिएको खुल्लेआम स्वीकार गरेका थिए । ढकालले को सङ्ग काम गरे ? कस कसले फाइल सदर गरे कसले पेश गराए त्यो भने छानबिन पछि तथ्य कुरा बाहिर आउनेनै छ ।

घुस फिर्ता गरि कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो

सेवाग्राहीले हैरान खेप्न नसकेर बिचौलिया मार्फत जिल्ला प्रशासन कार्यालय परिसरमा घुस लेनदेन गरेको बारे प्रजिअ भरतमणी पान्डेलाइ जानकारी गराएपछी प्रजिअ पान्डेले गरेको प्रारम्भिक अनुसन्धान पछि नागरिकता प्रतिलिपी शाखाका नासु जग्गु पान्डे र नयाँ नागरिकता शाखाका कर्मचारी नासु डिल्लीराम शर्मालाई साबिक शाखाको जिम्मेवारीबाट हटाइ स्थानीय प्रशासन शाखामा तानिएको सुचना प्राप्त भएको छ । यो कान्डमा अचम्मको कुरा त के छ भने डिल्लिराम शर्मा नयाँ नागरिकता शाखाका नासु हुन उनले नागरिकता प्रतिलिपी कान्डको जिम्मा लिएर प्रतिलिपी शाखाका कर्मचारी नासु जग्गु पान्डेलाई टिप्पणी लेख्न लगाएका थिए जग्गुले जबकी एउटा शाखाको कर्मचारीले अर्को शाखाको काम गर्न र गर्न लगाउन मिल्दैन , त्यतिमात्रै होइन सेवाग्राहीको सनाखतनै डिल्ली शर्माले गरिदिएको बुझिएको छ यसबाट पनि बुझ्न सकिन्छ यो घुस कान्डमा मुख्य नेक्सस डिल्ली शर्मा बाट सुरु भएको हुन सक्छ त्यसको लहरो कुन पहरो सम्म पुगेको छ त्यो भने राज्यको निकायले गर्ने छानबिन पछि मात्र पुष्टि होला ।
कारबाही स्वरुप तानिएका मध्य प्रतिलिपी शाखाका नासु जग्गु पान्डे कागजपत्र अनुसार हुने काम भएकोले टिप्पणी लेखिदिएको बताउछन । नागरिकता शाखाका डिल्ली सरले यो काम गरिदिनु भन्नू भयो कागजात हेर्दा कानुन सम्मत हुने काम नै भएकोले मैले कागज अगाडि बढाएको हो मैले त्यसबापत एक रुपैयाँ लिए खाएको छैन छानबिन गरि पुष्ठि भएमा भोग्न तयार रहेको नासु पान्डेले बताए । यस बिषयमा मुछिएका नयाँ नागरिकता शाखाका नासु डिल्ली राम शर्मा सङ्ग अर्काको शाखाको क्षेत्राधिकार भित्र पर्ने काम किन जिम्मा लिएर गर्न लगाएको भन्ने बिषयमा प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन ।
भने सेवाग्राहीबाट बिचौलिया मार्फत लिएको घुस रकम फिर्ता गर्न प्रजिअ पान्डेले निर्देशन दिएका छन । प्रजिअको निर्देशन पछि सेवाग्राहिलाइ घुस लिएको रकम किस्ताबन्दी रुपमा फिर्ता गर्न सुरु भएको बुझिन आएको छ । कस कसले कति रकम खाए कति फिर्ता गरे भन्ने एकिन विवरण खोज्ने हाम्रो अभियान जारी रहनेछ ।
कास्कि जिल्ला प्रशासन भित्रै बिचौलियाको जगजगी पुष्टि हुन आएको छ , यो डरलाग्दो बिषय हो ।। कानुन उल्लंघन गर्नेलाइ कारबाही गर्नुपर्ने अधिकार प्राप्त कार्यालय भित्रै यो हालत देखिनुलाइ किमार्थ राम्रो मान्न सकिन्न । कर्मचारीले खुट्टा छोड्ने र कानुन बिर्सने हो भने प्रजिअले गर्न खोजेको परिवर्तनले सार्थकता पाउन कठिन देखिन्छ । नागरिक प्रशासनलाई सेवाग्राही मैत्री बनाउन बिचौलिया निशेधित क्षेत्र घोषणा गरि कार्यान्वयनमा ल्याउन पहल हुन आवश्यक छ ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: