२०८१ फाल्गुन १०
०६१४४५०००, ९८५६०३३३९१

सृजनामा पोखिएको पीडाको घाउ ,दिपक खनालले ल्याए संसारमा तिमीलाई….!

प्रेस काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले स्व.श्रीमती अनिता आचार्यको स्मृतिमा संसारमा तिमीलाई…भन्ने गीत युट्युबमार्फत बाहिर ल्याएका छन् ।
‘संसारमा तिमीलाई अब भेटिदैँन तर पनि हाम्रो माया कहिल्यै मेटिदैन..’ भन्ने गीतमा गायक मातृका आचार्यले स्वर दिएका छन् भने सङ्गीत भरेका छन् सङ्गीतकार पुरुषोत्तम न्यौपानेले । यस्तै स्व. आचार्यको काल्पनिक मधुर आवाजमा साथ दिएकी छिन् आस्मा दुलालले ।
उक्त गीतको लोकार्पण प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत आज एक कार्यक्रमबिच गरेका थिए । उक्त गीत सार्वजनिक गर्दै उहाँले दुःखद् घटनापछि सकारात्मक सन्देश दिने काम यो गीतले गरेको उल्लेख गरे । क्यान्सरजस्तो रोग सहज र सरल रूपमा उपचारको व्यवस्था गर्न सरकारले ध्यान दिनुपर्ने र मिडियाले पनि त्यसका लागि सकारात्मक कलम चलाउनुपर्ने उनको भनाइ छ । उन्ले भने , “अकालमा कसैको पनि मृत्यु नहोस् भनेर राज्यलाई लोककल्याणकारी काम गर्न गीतसङ्गीत र समाचारमार्फत घच्घचाउनुपर्छ ।”
प्रेस काउन्सिलले सामाजिक सञ्जालको राम्रो प्रयोग गरौँ भनेर आह्वान गरिरहेको र यो गीत युट्युबमार्फत सार्वजनिक गरेर यसको रचनात्मक प्रयोग भएको अध्यक्ष बस्नेतले बताए । अरू किसिमका धेरै गीत आइरहेको भएपनि श्रद्धाञ्जली गीत आफैँमा नौलो प्रयोग भएको र यसले गर्दा सशरीर नभेटिने मानिससँग पनि युगौँ युगसम्म भेट भइरहने उनले बताए ।
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाालले यो गीतले शोकलाई शक्तिमा बदल्नका लागि प्रेरणा दिने र गीतमार्फत नै सम्झना रहिरहने उल्लेख गरे ।
गीतकार खनालले आफूले श्रीमती अनिताको निधन भएका बेला उक्त गीत लेखिएको भएपनि त्यसलाई स्मृति दिवस पारेर सार्वजनिक गरेको बताउनुभयो । महिलाहरूमा पाठेघर र स्तन क्यान्सरको जोखिमबारे सचेत हुनुपर्ने उनले बताए ।
गायक मातृका आचार्य र सङ्गीतकार पुरुषोत्तम न्यौपानेले यो गीतका शब्दहरू मर्मस्पर्शी भएको र अथक प्रयास गरेर छोटो समयमा नै राम्रो बनाउन प्रयास गरिएको बताए ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) खनाल कविता, गीत, निबन्धमा कलम चलाउन रुचाउँछन् भने मिडिया र राजनीतिक विश्लेषणमा पनि उनका विचारहरू सार्वजनिक हुने गरेको पाइन्छ । शोकलाइ शक्तिमा बदलेर अघि बढ्न र समाजलाइ सकारात्मक सन्देश दिन र पीडा भुल्न आफ्नो अन्तश्करणबाट गीतको सृजना गरेको दीपक खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्