
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र कार्यालय पोखराको नाममा रहेको पृथ्वीचोकको जग्गाको अघिल्लो भाग सामुदायिक अस्पतालले चर्चेको छ । कि.नं. ७ मा यातायात कार्यालयको नाममा २६ रोपनी जग्गा भएपनि कार्यालय भने महंगो भाडा तिरेर वसेको छ। जग्गा चर्चिरहन अस्पतालले मुद्धा हालेर अल्झाएको छ भने पछिल्लो भाग मेट्रो प्रहरी, मोटरसाइकल ट्रायल ट्रयाक रहेको छ । आफ्नै कार्यालय व्यवस्थित नभएको यातायात कार्यालयको वाँकी जग्गामा टहरा हालेर व्यापार सुरु गरिएको छ ।
सरकारी जग्गामा मनोमानी ढंगबाट टहरा हालेर होटल व्यापार सुरु भइरहँदा पनि जग्गाधनी यातायात कार्यालय (लाइसेन्स) मौन रहेको छ भने प्रहरी उजुरी कुरेर वसेको छ । धुले चौर त्यो पनि सरकारी जग्गामा अनुमती नलिई भाडा पनि नतिरिकन आफूखुसी व्यापार गरेर नागरिकलाई अस्वस्थ्य खाना खाजाको खुल्ला व्यापार भइरहँदा न स्वास्थ्य कार्यालय वोलेको छ न महानगर नै ।
यातायात कार्यालय प्रमुख हरी गौतम अनुमती नलिई वसेका व्यापारीलाई छेउमै रहेको मेट्रो प्रहरीले हटाउने वताउँछन् तर मेट्रो प्रहरी पृथ्वीचोकका इञ्चार्ज प्र.ना.नि. गजेन्द्र वहादुर लामिछाने तालुक अड्डा वैदाम प्रहरीको आदेश पर्खेको वताउँछन् । उनै प्र.ना.नि. गजेन्द्र लामिछाने हुन् जसले केहि दिन पहिला टहरा हटाएका थिए तर २४ घण्टा पछि उनि मौन रहनुलाई मिलेमतो आशंका उव्जिएको छ ।
आफ्नै परिसरमा रहेको सरकारी जग्गा अतिक्रमण गरी निजि व्यापार गर्दा हटाउन नसक्नेराज्यका निकायको यो निरिहता महारोग वनेको छ । वैदाम प्रहरी इञ्चार्ज डि.एस.पि. कोमल शाह सरकारी जग्गा अतिक्रमण वारे आफूलाई थाहा नभएको वताउँछन् । अतिक्रमण नै भएपनि हटाउने काम जग्गा धनी या स्थानिय सरकारको रहेको दावी गर्छन् । उनको भनाई सुन्दा लाग्छ प्रहरी आदेश नआए सम्म केहि पनि गर्दैन । त्यसो त एक दिन हटाउन सई लामिछानेलाई कसले आदेश दियो अनि २४ घण्टा पनि फेरि किन मौनता साँधेरे अतिक्रमणलाई संरक्षण गरियो । रहस्यहरु खुल्दै जानेछन् ।
प्रतिक्रिया दिनुहोस्