
यदुनाथ बन्जारा
सराकारी बिदाको दिन सवारी पास नलिइ चलेका ४ वटा सवारी ट्राफिक प्रहरी कार्यालय कास्किले नियन्त्रणमा लिएर होल्ड गरेकोछ । चैत्र २४ गते आइतबार रामनवमी पर्व परेका कारण संघ सरकारले सार्बजनिक बिदा दिएको थियो तर विभिन्न सरकारी कार्यालय तथा निकायहरुले सरकारी पास इजाजत नलिइ आफ्नो ब्यक्तिगत काममा सरकारी सवारीसाधन प्रयोग गर्दै विभिन्न जिल्लामा सयर गर्ने गरेका छन ।
सरकारी काम प्रयोजनका लागि खरिद गरिएका सवारीसाधन आफ्नो निजि र घरायसी कामको लागि कार्यालयका उच्च अधिकारि तथा पदाधिकारीहरुले बेलगाम प्रयोग गर्दै आएको पाइन्छ । अझ कतिपय सरकारी सवारीसाधन बिबाहभोज , जन्त , पिकनिक र रक्सि भट्टिहरुमा समेत फेला पर्ने गरेका छन । यसरी आफ्नो निजि बपौती जसरी सरकारी सवारी प्रयोग गरिदा इन्धन मोबिल लगाएतका खर्च समेत राज्यकोषबाट हुने गरेको छ ।
आइतबार राजमार्ग सुरक्षा तथा प्रदेश ट्राफिक ब्यबस्थापन कार्यालय गगनगौडाको निर्देशन बमोजिक कास्कि ट्राफिकले पृथ्बिराजमार्गमा गरेको चेकिङ्का क्रममा ४ वटा सरकारी कार्यालयले पास नलिइ चलाइएको अबस्थामा फेला पारी होल्डमा राखिएको थियो पछि मोबाइल मार्फत पास मगाएपछी ती गाडिहरु छोडिएको कास्की ट्राफिकले बताएको छ ।
यसरी होल्डमा राखिएको सवारीसाधनहरुमा भिमाद नगरपालिकाको ग१ झ ३०९ नम्बरको गाडी बिना पास पोखरा तर्फ आइरहेको अबस्थामा ट्राफिकले नियन्त्रणमा लिएको थियो । होल्डमा रहेको अबस्थामा मोबाइलबाट पास मगाएपछी गाडी छोडिएको थियो ।
यस्तै बा १ झ ६३१ नम्बरको घिरिङ गाउँपालिकाको गाडी पनि पास नलिइ तनहुँबाट पोखरा आउदै गरेको अबस्थामा ट्राफिकले नियन्त्रणमा लिइ होल्डमा राखेको थियो । यस्तै कोलेनिका तनहुँको बा ए ए १५०५ नम्बरको गाडी पनि पास नलिइ चलिरहेको अबस्थामा ट्राफिकले नियन्त्रणमा लिइ होल्ड गरेको थियो । पछि मोबाइल बाट पास मगाएपछी छोडिएको थियो ।
एकजना सचिब पान्डेको नाममा २ वटा पास कसको लागि ?
गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयका सचिब राजेन्द्रदेब पान्डे सार्बजनिक बिदाको दिन अगाबै चैत्र २२ गते टाटा स्ट्रोम ब्राण्डको बि ए ए ०५२८ नम्बरको गाडी लिएर आफ्नो घर तनहुँमा रहेका थिए । २४ गते आइतबार सचिब राजेन्द्रदेब पान्डेले अफिसमा भएको अर्को गाडी बि ए ए ०५३० नम्बरको कार तनहुमा बोलाएको भन्दै जान लागेको चालक प्रेम प्रसाद भन्डारिले ट्रफिकलाइ बताएका थिए । चालकको साथमा सवारी पास नभएका कारण गगनगौडा ट्राफिकले कार नियन्त्रणमा लिएर होल्ड गरायो । एक घन्टा पछि मोबाइलमा सवारी पासको फोटो मगाएर ट्राफिकलाइ देखाएपछी गाडी छोडियो ।
सार्बजनिक बिदाको दिन चलाउन भन्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सचिब राजेन्द्रदेब पान्डेको नाममा दुइवटा गाडिको पास दिनुको अर्थ बुझिनसक्नु छ । टाटा स्ट्रोम गाडी लिएर घर बसेका सचिब पान्डेले बिदाको दिन अफिसको कार किन र कसको लागि मगाएका हुन भन्ने खुल्न सकेको छैन । मुख्यमन्त्री कार्यालयले २०८१ चैत्र २२ गतेको मितिमा चैत्र मसान्तसम्मका लागि सवारी पास बनाइदिएको छ । उक्त पासमा सार्बजनिक बिदाको दिन कार्यालय आउन भन्ने प्रयोजन खुलाइएको छ । बिदाको दिन पोखराबाट तनहुँ जाने कार्यालयको काम थियो भने काम किन खुलाइएन । एक जना सचिबले दुइवटा गाडी कसरी प्रयोग गर्छन त्यो पनि अचम्मको कुरा होइन र ?
कसको लागि प्रयोग गर्न बि ए ए ०५३० नम्बरको कार मगाउनुभएको भन्ने हाम्रो प्रश्नमा सचिब पाण्डेले अनभिज्ञता जनाए । कसैको केही काम भएर होला भन्ने जवाफ दिए तर उक्त सवारिको पास आर्थिक मामिला मन्त्रालयका सचिब राजेन्द्रदेब पान्डेको नाममा मुख्यमन्त्रीको कार्यालयका सचिब केशबराज ढकालले चैत्र २२ गते सवारी पास जारी गरेको खुलेको छ । कार्यालय आउन जान भनेर पास लिने तर ब्यक्तिगत काममा प्रयोग गर्ने काम मन्त्रालय बाटै हुनुले सरकारी सवारीसाधनको दुरुपयोगलाई गोडमेल गर्न बल पुगेको छ । नियमन गर्ने निकायका जिम्मेवार ब्यक्तिबाट प्रयोजन बिपरित गरि दुरुपयोग गरिन्छ भने तल्लो तहका कार्यालयका कर्मचारीलाई कसले नियमन गर्ने ?
तनहुँ रहेका सचिबले बोलाएको भन्दै हुइकिएका चालक प्रेम प्रसाद भन्डारी ट्राफिक प्रहरिले ठाउँ ठाउँमा चेक जाँच र सोधपुछ गर्न थालेपछी टेन्सन भयो भन्दै तनहुँको हलेदिबाटै पोखरा फर्किएका थिए तनहुँका एक ट्राफिकले भने । बास्तबमा त्यो कार कसका लागि मगाइयो र किन फर्कियो भन्ने गुदि कुरो खुल्न सकेको छैन ।
सरकारी सवारीसाधन बिना पास मनोमानी चलाउने क्रम रोकिनु पर्छ । सरकारी कामको आधिकारिकता र औचित्य हेरि पास दिने गर्नुपर्छ । जिल्ला स्थित कार्यालयलाइ जिल्ला प्रशासन कार्यालयले र प्रदेश तहका मन्त्रालय र कार्यालयलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सवारी पास दिने गरेको छ । ट्राफिक प्रहरीले बिना पास चलेका सवारीसाधनलाई प्रयोजन बिपरित सन्चालन गरेको दफा लगाएर कारबाही गर्न सकेमा मात्र सरकारी सवारीसाधनको दुरुपयोग रोकिन सक्छ ।
स्मरणीय छ सराङ्कोटले माघ महिनामा सवारीपास नलिइकन अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले भेटी पुर्याउन काठमाडौ गएको तथ्य सार्बजनिक गरेको थियो । उक्त गाडीको नम्बर समेत नक्कली राखी चलाएको भन्दै यातायात ब्यबस्था कार्यालय कास्किले गाडी बिक्रेता कम्पनी बि बि अटोमोबाइललाइ २० हजार रुपैयाँ दण्ड जरिवाना तिराएको थियो ।
प्रतिक्रिया दिनुहोस्