पछिल्लो समयमा विद्युतीय गाडिको आयात ह्वात्तै बढेको छ । चौधरी ग्रुपले नेपालमा विद्युतीय गाडी आयात गरी आक्रामक बजार विस्तार गरिरहेको सिजी मोटर्सले फास्ट चार्जिङ स्टेसनमा लगानी बढाउँदै लगेको दाबी गरेको छ । यसै क्रममा सिजी मोटर्स प्रालि र डिलर टिटी ग्लोबल प्रालिले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण गरेको छ ।
सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले मंगलबार आयोजित एक कार्यक्रमका बीच पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसीलाई चार्जर हस्तान्तरण गरेका हुन् । कम्पनीले कार्यालय परिसर फिर्केमा चार्जिङ स्टेसन स्थापना गरिने बताएको छ ।
चार्जिङ स्टेसन विस्तार भएपछि विद्युतीय गाडी चार्ज गर्नका लागि यातायात व्यवसायी लाभान्वित हुने विश्वास गरिएको छ । सिजी मोटर्सले देशभर २ सयभन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेसन स्थापना गरिसकेको छ । अबको १ वर्षभित्र थप २ सय स्थानमा बिस्तार गरिने प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले जानकारी दिए ।
टिटी ग्लोबलले केवाइसी, किङलङ, नेटा, रिडारा र अभतारको बिक्री वितरण गर्दै आएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्ने बताए । आगामी दिनमा सिजी मोटर्ससँग सहकार्य गर्दै अगाडि बढ्न आफूहरू तयार रहेको उनी बताउँछन् ।
चार्जिङ स्टेसन तथा अन्य पूर्वाधार विकासमा सिजी मोटर्स र टिटी ग्लोबल प्रतिबद्ध रहेको टिटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले बताए । बिक्रीपछिको सेवा प्राथमिकतामा रहेको उनले जनाए । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रवन्ध निर्देशक ज्ञानबहादुर केसीले व्यवसायीको हितमा कम्पनी सक्रिय भएर लागिरहेको उल्लेख गरे ।
पृथ्बी राजमार्ग अन्तरगत करिब ८० वटा इभि गाडिहरु सन्चालनमा रहेको अध्यक्ष केसिले बताए । हाल जडित फास्ट चार्जिङ मेसिन पृथ्वी कम्पनिका शेयर सदस्यको गाडिलाइ प्रती युनिट डेढ रुपैयाँ सम्म छुट दिइने अध्यक्ष केसिले बताए ।