“हिमाल पारिका कर्मचारीको पीडा बुझ्ने कोहि छैन”– नवीन क्षेत्री  नि.प्र.प्र. अधिकृत (मनाङ ङिस्याङ गाउँपालिका)

सराङकोट न्यूज
8 October, 2024 4:38 pm
Advertisements
संघीयता कार्यान्वयनमा आएपछी ७५३ वटा पालिका स्वायत्त शासन प्रणालीमा गए । आफ्नो पालिकालाइ के गर्नु पर्छ, बिकाशको मोडल कस्तो हुने निर्णय गर्न सक्ने पद्धति स्थानीय तहको नैसर्गिक अधिकार हो । जनप्रतिनिधि बजेट ल्याउने, पास गर्ने र कर्मचारीले बजेट कार्यान्वयन गर्ने हुँदा सन्तुलनको सिद्धान्तले भुमिका पाएको छ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवीन क्षेत्रीले के कस्ता चुनौती सामना गर्दै आए त अनुभूती र उपलब्धि के कस्ता झेल्नुपरेको छ सराङकोटले खोतल्ने प्रयास गरेको छ ।

जागिर अबधिमा कुन कुन जिल्लामा सेवा गर्नुभयो ?

सुरु नियुक्ती देखीनै मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिकामा नै रहि निरन्तर जनताहरुको सेवा गर्दै आइरहेको छु।

सरकारले कर्मचारी सरुवा खटन पटनमा कतिको न्याय गरेको महसुस गर्नुभएको छ ?

स्थानीय तहको कर्मचारीहरुको सरुवा खटन पटनमा हालसम्म कुनै मापदण्ड बन्न सकेको छैन र सरुवा भई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जादाँ दुईवटै स्थानीय तहको सहमति आवश्यक पर्ने हुदाँ पहुँचवाला कर्मचारीले मात्र लाभ लिई सुगमका स्थानीय तहमा डेरा जमाईरहेको अवस्था छ, जसले गर्दा पहुचँ नपुग्ने सोझासाझा कर्मचारीहरु दुर्गमका स्थानीय तहमानै बर्षैसम्म थन्किने अवस्था रहेको छ । फलस्वरुप कर्मचारीहरुमा कामप्रतीको लगाव कम हुदै जाने वृति विकासमा समेत अवरोध पुग्ने गरेको छ। पहुँच नपुग्ने स्थानीय तहका कर्मचारीले न्याय महशुस गर्न समेत पाएका छैनन ।

हाल दुर्गम पालिकामा सेवा गरिरहनुभएको छ कस्तो अनुभव गर्नुभएको छ ?

आफुले जनताको सेवा गर्छु भन्ने प्रण सेवा प्रवेश गर्नु अगावै रहेको हुनाने दुर दराजमा रहेका स्थानीय तहमा आई यहाँका स्थानीय जनतालाई सेवा गर्न पाउँदा आफुलाई भाग्यमानी नै ठानेको छु । पुर्वाधारको अभाव, भौगोलिक विकटता, प्रतिकुल मौसम जस्ता विभिन्न कारणले गर्दा सेवा प्रवाह र यहाँको सर्वा·िण विकासमा आफुले सोचेअनुसारको प्रतिफल दिन सकिएको छैन।

मनाङको सामाजिक परिबेस बारे बताइदिनुस न।

हिमाल पारीको जिल्ला मनाङ प्राकृतिक सौन्दर्यताको धनीमात्र नभई भेषभुषा, कला, संस्कृती र पुरातात्विक सम्पदाले धनी जिल्ला हो। यहाँको कला, संस्कृती, भेषभुषा र पुरातात्विक सम्पदाले यहाँ घुम्न आउने स्वदेशी र विदेशी पर्यटकहरुलाई मन्त्रमुग्ध पार्ने गर्दछ।यहाँ सामाजिक मेलमिलाप र सहयोगी भावनाले गर्दा विवाद सिर्जना नै नहुने हुदाँ न्याय निरुपण र विवाद समाधानमा पालिकाले खासै कार्य गर्नुपरेको नै छैन।

स्थानीय सरकारसङ्ग स्थानिय नागरिकको सहकार्य र मेलमिलाप कस्तो पाउनु भो ?

स्थानिय सरकार जनताको नजिकको सिंहदरबार हो। यहाँका जनताहरु एकदम मिलनसार र सहयोगी भएको हुदाँ स्थानीय सरकारसँग स्थानिय नागरिकको सहकार्य र मेलमिलाप एकदमै राम्रो रहेको छ। यति हुदाँहुदै पनी अशिक्षाका कारण र कानुनमा रहेका कुराहरुको जानकारीको अभावका कारण कहिलेकाहिँ सेवाप्रवाहमा कठिनाई हुने गरेको छ।

मनाङको पुरानो मुखिया प्रथा बारे के छ अहिलेको अबस्था ?

मनाङमा पहिले पहिले मुखिया प्रथा रहने गरेता पनी हाल मुखिया प्रथा हटिसकेको छ। तर तत्कालिन मुखियाहरुको अनुभव तथा उपदेश आत्मसाथ गरि पालिकाको विकासमा अघि बढीएको छ।

दुर्गम पालिकामा बिकाशको चुनौती के के महशुस गर्नुभयो ?

दुर्गम स्थानको मुख्य समस्या भनेको नै पुर्वाधारको अभाव, भौगोलिक विकटता, प्रतिकुल मौसम र सिमित स्रोत र साधन हो । वर्षातको समयमा बेशिसहर–चामे सडकखण्डको अधिकांश भागमा निरन्तर पहिरोका कारण विकास निर्माणका सामाग्री ढुवानी गर्न कठिनाई हुनुका साथै स्थानीय तथा कर्मचारीहरुले निरन्तर जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। त्यसैगरी हिउँदको समयमा भारी मात्रामा हिउँ पर्ने र अत्यन्तै चिसो बढ्नाले सेवाप्रवाहमा र स्थानीय÷कर्मचारीहरुको जिवनस्तर अत्यन्तै कठिन हुनुका साथै विकास निर्माणका काम ठप्प हुने गर्दछ।

जग्गा क्षेत्रफल बडि जनताको घनत्व न्यून भएको कारण सरकारले गरेको लगानीको प्रतिफल बारे जनताको सन्तुष्टि र जनप्रतिनिधि बिचको तारतम्य कतिको मिलेको छ ?

भौगोलिक जटिलता एवं ठुलो क्षेत्रफलका कारण सडक, खानेपानी, सिंचाई, विद्युत जस्ता पुर्वाधार विकासमा सोचे भन्दा बढी लागत लाग्ने गरेको छ । जनसंख्या कम भएता पनी बस्ती छरिएर रहेको हुनाले आधारभुत आवश्यकता परिपुर्ति गर्न समेत ठुलो पुजीँको आवश्यकता पर्ने गरेको छ । पालिकाको आन्तरिक आय एकदम न्युन भएका कारण विकास निर्माण र जनताको आधारभुत आवश्यकता परिपुर्तीमा सोचेअनुसारको लक्ष्य हासिल गर्न सकिएको छैन।

सार्बजनिक जग्गाहरु अतिक्रम भएको कुरा सुन्नमा आएको छ, के छ त्यसमा सत्यता ?

जनसंख्या कम र ठुलो भुगोलका कारण यहाँ सार्वजनिक जग्गा धेरै नै छ। हाम्रो पालिका अन्नपुर्ण संरक्षण क्षेत्र भित्र पर्दछ । कानुनको अस्पष्टताका कारण संरक्षण क्षेत्र र पालिकाको अधिकार क्षेत्रका विषयमा विवाद÷अस्पष्टता हुदाँ पालिकाको आन्तरिक आय गुम्नुका साथै सिमित वर्गले यसको फाइदा उठाई सार्वजनीक जग्गामा होटल सञ्चालन गर्ने तथा अन्य संरचना निर्माण गरि आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्।

मनाङका जनताको आय स्रोत के के हुन ? उनिहरुको जीवनस्तर उकास्न के कस्ता योजना आवश्यक होलान तपाई एक कर्मचारीको तर्फबाट महसुस गरेका अनुभुती बताइदिनुस न ।

मनाङ जिल्ला प्राकृतिक सौन्दर्यताले भरिपुर्ण भएका कारण यहाँका जनताहरुको प्रमुख आय स्रोत भनेको पर्यटन व्यवसाय नै हो। यसका साथै कृषि, पशुपालन र वैदेशिक रोजगारी यहाँका जनताहरुको अन्य आय स्रोतहरु हुन्। यहाँको जनताको जीवनस्तर उकास्न पर्यटन पर्वद्बन, पर्यटकीय पुर्वाधार निर्माण, आधुनिक खेती, कृषि र पशुपालनमा विभिन्न प्रकारका सहुलियत एवं अनुदान र सहज आवतजावतका लागी पक्की सडक र नियमित हवाई उडानको प्रवन्ध गर्नु पर्दछ जस्तो लाग्दछ।

सोध्न छुटेका र भन्न मन लागेका कुरा बताउनुस न ।

गाउँपालिकाको समग्र विकासका लागी लागिपर्नु भएका एवं गाउँपालिकाको उन्नतीमा हामिलाई साथ सहयोग र सदैब मार्गनिर्देश गर्नुहुने जनप्रतिनिधि, समाजसेवि, बुद्बिजिवि साथै कठिन भुगोल र प्रतिकुल मौसमका बाबजुत पनी जनताको सेवामा तल्लिन हुनुहुने मेरा सम्पेण कर्मचारी मित्रहरुप्रती  हार्दिक कृतक्षता प्रकट गर्न चाहन्छु साथै मेरो कार्य अनुभव राख्ने मौका दिनुभएकोमा सराङकोट साप्ताहिक  र हजुरलाई विशेष धन्यवाद दिन चाहन्छु।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: