विदेशमा नेपाली पहिचान चुनौती र जिम्मेवारी

सराङकोट न्यूज
1 September, 2024 10:18 pm
Advertisements

बिनोद श्रेस्ठ चुल्याजू

हामी नेपालीहरु संसारका हरेक कुनामा पुगेका छौं। रोजगारी, शिक्षा, व्यापार र विभिन्न कारणले हामीले आफ्नो जन्मभूमि छोडेर विश्वका धेरै देशहरुमा आफ्नो पहिचान बनाएका छौं। तर जहाँ गए पनि आफ्नो मातृभूमि र संस्कृति सँगको सम्बन्ध गहिरो र बलियो नै रहन्छ। हरेक नेपालीले आफ्नो देशको माया र गर्वलाई आफ्नो हृदयमा बोकेर हिँड्छ, चाहे त्यो संसारको जुनसुकै कुनामा किन नहोस्। यसले हामीलाई एकअर्कासँग जोडेर राखेको छ र हामी जहाँ पनि छौं नेपाली हुनुको पहिचानलाई बलियो बनाइराखेका छौं।

नेपालको सुन्दर भूमि, जहाँ हाम्रो पहिलो श्वास लिएर हामीले जीवनको सुरुवात गरेका थियौं, त्यो भूमि हामी सबैको प्रिय छ। तर हाम्रो समाजका केही गलत धारणाहरू, कुरितीहरू र कुसंस्कारहरूले गर्दा हामीलाई हाम्रो जन्मभूमि छोड्न बाध्य बनायो। यो त्यही समाज हो जहाँ विभाजनको बीज रोपिएको छ जहाँ मान्छे मान्छेबीचको भिन्नता ठूलो बनाइएको छ, र जहाँ अनगिन्ती कुसंस्कारले हाम्रो सामूहिक चेतनालाई कैद गरेको छ।

विदेशमा नेपालीको रूपमा हामीले एउटा उदाहरणीय समाजको निर्माण गर्न सक्छौं, जहाँ कुनै पनि भेदभाव छैन, जहाँ हामी सबैले सम्मान, सद्भाव र समानताको सिद्धान्तमा विश्वास राख्छौं। यो हाम्रो जिम्मेवारी हो‌ र यो हाम्रो अभियान हो।

आउनुहोस् हामीले आफ्नो जन्मभूमि छोडेर आए पनि नेपालका कुरिती र कुसंस्कारलाई छोडेर, नयाँ सोच, विचार र जीवनशैली अपनाएर, विश्वको लागि एउटा उज्वल उदाहरण बनौं। यो केवल हाम्रो लागि होइन, हाम्रो भविष्यको पुस्ताको लागि पनि हो, जसले हामीबाट सिकेर एउटा नयाँ नेपाल बनाउनेछन्।

नेपाल र नेपालीको परिचय संसारभर फैलिएको छ, तर यो परिचय दुईवटा पाटामा विभाजित छ एकातिर गौरव र इज्जत, अर्कोतिर अपमान र बदनाम। संसारका धेरै मुलुकमा नेपालीहरुले आफ्नो पसिना र बलिदानले इज्जत कमाएका छन्। तर त्यसैसँगै नेपालबाट आएका केही तत्वहरुले हाम्रो समाजका कुप्रथाहरु, आपराधिक प्रवृत्तिहरु‌ र भ्रष्टाचार पनि सँगै बोकेर ल्याएका छन्।

हामी विदेश जाँदा केवल शारीरिक रूपमा मात्र नेपाललाई छोडेका छैनौं। हामीले ती सबै पुराना, झुटा र प्रतिगामी सोचहरूलाई पनि त्यागेर आउने वाचा गरेका हुन्छौं। हामी यहाँ आउँदा नयाँ जीवनको खोजीमा हुन्छौं, नयाँ मूल्य र विचारधाराहरूको अनुरूप आफैलाई ढाल्ने कोसिस गर्छौं। तर अफसोच हामीमध्ये कतिपयले यहाँ आएर पनि पुराना सोच र संस्कारलाई छोड्न सकेका छैनौं।

हाम्रो विदेश यात्राको उद्देश्य केवल आर्थिक सम्पन्नता मात्र होइन, हाम्रो सोच, विचार‌ र जीवनशैलीमा पनि परिवर्तन ल्याउनु हो। हामीले हाम्रो नयाँ जीवनलाई विश्वको उदाहरण बनाउनु पर्छ, जहाँ हामी कुनै पनि कुरितीलाई स्वीकार गर्दैनौं कुनै पनि कुसंस्कारलाई बोक्दैनौं।

हामीलाई यस कुराको बोध गर्नुपर्छ कि हामीलाई नेपालबाट बाहिरिनु परेको कारण भनेको यिनै गलत धारणा र संस्कारहरू हुन्। हामीले संसारलाई देखाउनु पर्छ कि नेपाली जहाँ भए पनि, जुनसुकै भूमिमा रहे पनि, उनीहरूका विचार आधुनिक, सोच प्रगतिशील र जीवनशैली उदाहरणीय हुन्छ।

अब समय आएको छ हामीले हाम्रो गलत धारणाहरूको अन्त्य गरेर, नयाँ सिद्धान्तहरूको आलोकमा नयाँ जीवन सुरु गर्न। हामीले यस्तो जीवन जिउनु पर्छ जहाँ हामी सधैं हाम्रा छोराछोरीहरूलाई गर्वले भन्न सकौं “तिमीहरूको बुबा आमा संसारलाई परिवर्तन गर्ने, नयाँ नेपाल बनाउने मार्गमा छन्।”

नेपालका टोले गुन्डा, झोले, मुन्द्रे, चोर फटाहाहरु, हत्यारा, बलात्कारीहरु र ठगहरु पनि संसारभर फैलिएका छन्। यिनीहरुले जहाँ पुगे पनि नेपाल र नेपालीलाई बदनाम गराइरहेका छन्। उनीहरुको कारणले गर्दा संसारका धेरै ठाउँमा नेपालीहरु प्रति गलत धारणा बनिरहेको छ। यसले गर्दा इमानदार नेपालीहरुको सम्मानमा दाग लागेको छ।

तर यसमा सम्पूर्ण दोष ती व्यक्तिहरुमात्र होइन। हाम्रो समाज र राज्यले नै यस्ता तत्वहरुको विकास गर्न मद्दत गरेको छ। जसले गर्दा आज नेपाल र नेपालीलाई विश्वभरि नै बेइज्जत भइ रहेका छन्। हाम्रो समाजमा व्याप्त भ्रष्टाचार, गरिबी, अशिक्षा र अवसरको अभावले गर्दा यस्ता अपराधी तत्वहरुले संसारभरि विस्तार गर्न अवसर पाएका छन्।

तर यसको अर्को पाटो पनि छ। यही समाजबाट इमानदार, मेहनती र प्रतिभावान नेपालीहरु पनि जन्मिएका छन्, जसले नेपाललाई गौरव दिलाएका छन्। उनीहरुले संसारभर नेपालीहरुको नाम उज्यालो बनाएका छन्। यो विरोधाभास नेपाली समाजको यथार्थ हो। जहाँ एकातिर हामीले इज्जत कमाइरहेका छौं, अर्कोतिर बेइज्जत पनि भैरहेका छौं।

समस्या हाम्रो समाजको संरचनामा छ। जबसम्म हामी समाजमा रहेका यस्ता खराब तत्वहरुलाई जरा उखाल्न सक्दैनौं तबसम्म हामीले इज्जत भन्दा बेइज्जत धेरै सहनुपर्नेछ। समय आएको छ हाम्रो समाजको सफाइ गर्ने अपराध र भ्रष्टाचारको जरा उखाल्ने र सच्चा नेपाली पहिचानलाई संसारभर फैलाउने। जबसम्म हामी आफैं परिवर्तन हुँदैनौं, तबसम्म संसारले हामीलाई यथार्थमा चिन्नेछ। यो हाम्रो जिम्मेवारी हो र यो जिम्मेवारी हामीले नै पूरा गर्नुपर्छ।

पछिल्लो समय विश्वभर हामी नेपालीहरुको पहिचानमा केही नकारात्मक असर परेको छ, जसको कारण हाम्रो समाजमा बढ्दो भ्रष्टाचार, अनैतिक गतिविधि र गैरकानूनी क्रियाकलापमा संलग्नता हो। यो कुरा केवल व्यक्तिगत स्तरमा सीमित छैन, हाम्रो सामूहिक पहिचानमा पनि धक्का लागेको छ।यस्तो अवस्थामा हामी सबैको दायित्व हुन्छ कि हाम्रो कर्तव्यलाई इमान्दारीपूर्वक निभाउनुपर्छ र सकारात्मक कामहरुमा अग्रसर हुनुपर्छ। नेपाली समाजलाई पुनः प्रतिष्ठित बनाउन, हामीले नैतिकता, इमान्दारी र परिश्रमको बाटो रोज्नुपर्छ।

संसारका विभिन्न भागमा रहेका नेपालीहरुले आफ्नो मेहनत र इमानदारीले देशको नाम उज्ज्वल पार्न धेरै अवसरहरु पाएका छन्। ती अवसरहरुको सदुपयोग गर्दै हामीले हाम्रा कमजोरीहरुलाई सुधार्ने र भविष्यमा राम्रो पहिचान बनाउनेतर्फ लाग्नुपर्छ।यो समय हो हामीले सोच्न र बुझ्नुपर्ने कि हाम्रो एकएक कर्मले हाम्रो देशको नाम, संस्कार र पहिचानलाई कति धेरै प्रभावित गर्दछ। त्यसैले हाम्रो समाजलाई सुधार्न हामी प्रत्येकले आफ्नो ठाउँबाट सकारात्मक पहल गर्नु आवश्यक छ।
पोखरा १६ मैदान
हाल‌ मलेसिया

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: