
पोखरा
सामाजिक सञ्जाललाई दुरुपयोग गरी केहि लाइसेन्स माफियाहरुले ठगी धन्दा चलाउँदै आएको पाइएको छ । सरकारी लाइसेन्स कार्यालयको जस्तै दुरुस्तै नाम राखी बनाइएका पेजहरुमा कु–प्रचार गर्दै लाइसेन्स सम्बन्धि काम गर्ने गिरोह पोखरामा गत वर्षबाट सकृय रहँदै आएको फेला परेको छ । गण्डकी लाइसेन्स पोखरा नामको पेजमा सरकारी लोगो समेत प्रयोग गरी झुटको खेती गर्दै आएको पाइएपछि सराङकोटले भण्डाफोर गरेपछि उक्त लोगो हटाएको छ। यस प्रकरणमा कर्मचारीको समेत संलग्नता रहेको आशंकित गतिविधि भएको पाइएपछि अख्तियार कार्यालय पोखराले छानविन भइरहेको बताएको थियो।
तर उक्त गिरोहले फेक आइडी पेज बनाई जनता ठगी गर्ने कार्यलाई निरन्तरता दिइरहेको भेटिएको छ । ‘गण्डकी लाइसेन्स पोखरा’ नामक फेक पेजमा http://dlo.gandaki.gov.np/वेभ पेज राखेर सर्वसाधारण जनता झुक्याउँदै सरकारी कार्यालय हो भनि आफू तर्फ तानी लाइसेन्स फाराम दर्ता देखि नतिजासम्मका गतिविधि प्रकाशन गर्न भूमिका गर्ने निर्वाह भन्दै कमाउ धन्दा गरिरहेको खुल्न आएको छ ।
उक्त गिरोहले सरकारी कार्यालयको सूचना समेत आफ्नो नक्कली पेजमा राख्ने गरेको छ । कार्यालयको गोप्य डकुमेन्ट समेत उक्त पेजबाटै पव्लिक गरिएबाट कार्यालय सम्बद्ध कर्मचारी स्रोतको समेत संलग्नता हुन सक्ने बुझिएको छ । केहिसमय अघि गण्डकी लाइसेन्स कार्यालयको ट्रायल फिल्डमा प्रशिक्षार्थीले ड्यूटिमा खटिएका कर्मचारीलाई ठक्कर दिएको सिसि क्यामेराको फुटेज समेत गण्डकी लाइसेन्स पोखराको पेजबाट सार्वजनिक भएको थियो । जवकि उक्त फुटेज कर्मचारीको सहयोग विना निकाल्न सकिदैन ।
यस्तै लाइसेन्स इन्फो नेपाल (licence info nepal) नामक पेजमा सरकारी लोगो प्रयोग गरिएको छ । सरकारी लोगो प्रयोग गर्नु कानून विपरित कार्य भए पनि लाइसेन्स गिरोहले दुरुपयोग गरेर सोझा साझा जनतालाई झुक्याउँदै कमाउ धन्दामा लागेको देखिन्छ । यस्तै सवारी चालक अनुमती पत्र कार्यालयको फोटो राखेर हेल्पिङ ग्रुप नाम दिएर सेवाग्राहीलाई तानेर झुक्याई लाइसेन्स खेती गर्न खोजेको पाइएको छ । यातायात कार्यालय गण्डकी लाइसेन्स, यातायात कार्यालय लाइसेन्स गण्डकी, गण्डकी लाइसेन्स गण्डकी यातायात कार्यालय पोखरा (फोटोसहित) सहित १ दर्जन बढि फेक पेज बनाइ सेवाग्राही ठग्दै आइरहेको फेला परेको छ तर सरकारले त्यसको छानविन नियमन र कारवाहीमा सकृयता देखाउन नसकेका कारण नागरिक ठगीन वाध्य भएका छन् ।
यस विषयमा सवारी चालक अुनमती पत्र गण्डकीका प्रमुख जितेन्द्रजंग केसीसँग प्रतिकृया लिंदा सिआइवीलाई पत्राचार भएको बताएका छन् । सिआइवीलाई पत्राचार भएको लामोसमय भइसक्दा पनि छानविन र कारबाही भएको नतिजा देखिएको छैन त्यसकारण पनि छुक्याएर ठगी गर्ने गिरोहले आफ्नो सकृयतालाई बढाइरहेका छन् । अख्तियार, सिआइवी, जिल्ला प्रहरी कार्यालय कास्कीले गंभिरताका साथ छानविन गरी विद्युतीय अपराध (साइवर) कानून वमोजिम कारवाही गर्नु पर्ने भन्दै नागरिक अधिकारकर्मीहरुले राज्यको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया दिनुहोस्