
पोखरा
निजि अस्पतालहरुको छाता संस्ंथा अफिनको केन्द्रीय अधिवेशनबाट निर्वाचित अध्यक्ष डा. पदम बहादुर खड्कालाई अफिन गण्डकीले पोखरामा स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ । डा. खड्का वझाङको जयपृथ्वी नगरपालिकामा जन्मिएर पोखरालाई कर्मथलो बनाएका हुन् । स्वास्थ्य संस्थालाई कसरी जनउत्तरदायी र मर्यादित बनाउने भन्ने बारेमा लामो संघर्ष गर्दै आएका खड्काले निति निर्माता तहमा पुगेर मात्र स्वास्थ्य संस्थालाई जवाफदेहि र जनउत्तरदायी वनाउन सकिन्छ भन्ने अठोट लिएर केन्द्रीय अध्यक्षको पदमा उम्मेद्वारी दिएका थिए । अफिनको चुनावबाट झण्डै दुई तिहाई मतका साथ विजयी भएका खड्काले सपथ खाए लगत्तै अफिनको हित अनुकूलका कार्य अगाडि बढाएका छन् ।
स्वास्थ्य संस्था संचालन सम्बन्धि ऐनमा हस्पिटलको नविकरण ५ वर्षमा गर्ने उल्लेख भए पनि सरकारी निकायबाटै कानून उल्लंघन गरी कतै एक वर्षमा कतै ३ वर्षमा नविकरण गर्ने भाउँतो लगाउँदै आएकोमा अव नियमानुसार ५ वर्षमा एक पटक नविकरण गर्ने प्रवन्ध मिलाउने व्यवस्था गर्न स्वास्थ्य मन्त्री र प्रधानमन्त्री समक्ष भेटघाट गरी कार्य अघि बढाईएको नवनिर्वाचित केन्द्रीय अध्यक्ष खड्काले बताए । अफिलन गण्डकी प्रदेश समिति द्धारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा बोल्दै डा. खड्काले आफूले पाएको २ वर्षको अवधिलाई कानून वमोजिम स्वास्थ्य संस्थाको हित पक्षमा कार्य गरी अफिन संस्थालाई रहरलाग्दो र भरलाग्दो बनाउने बताएका थिए । आफूले देशभर रहेका निजि अस्पताल संचालकहरुको विश्वास जितेर जिम्मेवारी पाएको हुँदा विश्वासमा खडेरी पर्न नदिने बताउँदै अफिनमा आबद्ध नभएका अस्पतालहरु लाई आवद्ध हुन अध्यक्ष डा. खड्काले बताएका थिए । अफिनका केन्द्रीय अध्यक्ष चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको वोर्डमा पदेन सदस्य हन पाउने कानूनी प्रावधान छ । आयोग र काउन्सिलबाट नितिगत सुधारमा उल्लेख्य फड्को मार्न सकिने अध्यक्ष खड्काले दावी गरेका छन् ।
अफिन गण्डकीका अध्यक्ष अशोक पालिखेले निजि अस्पतालका कथा व्यथा सुनाउँदै विद्यमान अप्ठेरो प्रावधानहरुलाई सुधार गर्ने तर्फ आग्रह गरेका थिए । अस्पताल अस्थायी हुने तर कर्मचारीलाई स्थायी गराउनुपर्ने विद्यमान श्रम कानून अव्यवहारिक भएको अस्पतालको वेड क्षमता अनुसार मापदण्डमा विभेद रहेको, कर न्यायोचित नभएको भन्दै अफिन केन्द्रले सरकारसँग पहल गरी अगि बढाउन आवश्यक रहेको पालिखेले बताएका थिए । अफिन गण्डकीका महासचिव ऋषि खतिवडाले संचालन गरेको बधाई तथा स्वागत कार्यक्रममा उपाध्यक्ष हरि ब. खड्का, डा. ऋषि ढकालले शुभकामना व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्