
पोखरा
मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य बस्तुको अनुगमनमा राज्य उदासिन भएको मौका छोपी उद्योगी र व्यापारीहरुले खानै नमिल्ने कुहिएको चामल पोखराको वजारमा विक्री हुँदै आएको पाइएको छ । वीरंगजमा रहेको सन्तोष खाद्य उद्योगबाट उत्पादित सोना मन्सुली चामल पोखरामा विक्रीको लागि पठाइएको फेला परेको हो ।
पोखरा–१, बगर केआइसिंह पुलको बास्तोला ट्रेडर्सले सन्तोष खाद्य उद्योग वीरगंजबाट आयात गरेको सोना मन्सुली चामल बाटुलेचौरको एक किराना पसल मार्फत् उपभोक्ताको घरमा पुगेपछि खोलेर हेर्दा चामल ढुसी परि डल्ला कालो भइसकेको अवस्थामा फेला परेको भन्दै उपभोक्ताले सराङकोट पत्रिकालाई स्थलगत अवलोकनका लागि खबर गरेका थिए । पसलमा रहेको अर्को बोरा पनि खोलेर हेर्दा त्यो पनि सडेको अवस्थामा रहेको पाइएको थियो ।
सडेको चामलको वोरामा एप्पल सय प्रशित भेजिटेरियन चामल मात्र लेखिएको थियो चामलको वोरामा नियमानुसार हुनु पर्ने लेवल केहि उल्लेख नगरेको पाइएको छ । लेवल नहुँदा त्यो चामलको उत्पादक कम्पनी, मूल्य, उपभोग्य मिति, मिल दर्ता नम्वर व्याच नम्वर केहि पनि थिएन । उपभोक्तालाई गुमराह मा पारि झुक्याएर सडेगलेको अखाद्य चामल विक्री गर्ने काम पोखरामा खुल्लम खुल्ला भएको पाइएको छ ।
चामल आयत गर्ने पोखरा–१ केआइसिंह पुलका बास्तोला ट्रेडर्सले सन्तोष खाद्य उद्योग वीरगञ्ज ले लेवल नराखीकन विग्रेको चामल पठाएको भन्दै बजारबाट त्यस्तो चामल फिर्ता गरिने बताएका छन् । आफूले २५ केजीको २ सय वोरा सोना मन्सुली चामल मगाउँदा विग्रेको चामल आएको बताए तर लेवल भए नभएको बारे सोधिएको प्रश्नमा कुनै प्रतिकृया दिन चाहेनन् ।
सडे गलेको चामल पठाउने सन्तोष खाद्य उद्योग वीरगंजका संचालक मनोज शाह पोखराको पाटीले सस्तो चामल मागेकोले लेवल नलगाई २ सय वोरा सोना मन्सुली चामल पठाएको बताए। सुरुमा एप्पल ब्राण्डको चामल आफनो नभएको दावी गरेका मनोज शाह सँग हामीले सप्रमाण सोधपुछ गरेपछि आफ्नो ब्राण्ड मयुर र गजराज चामल भएपनि बजारबाट एप्पलको बोरा किनेर चितवनको सोना मन्सुली धान कुटेर पठाएको स्वीकार गरेका छन् । सुरु सुरुमा कम्पनी खोलेकोमा कमजोरी हुनसक्ने मनोज शाहले बताए । लेवल नराखेर खाद्य वस्तुको गैह्रकानूनी कारोवार किन गरेको भन्ने हाम्रो जिज्ञाशामा उनले नयाँ धानको चामल छिटो विग्रने भन्दै जोगिन लेवल नराखेको बताए ।
सस्तो चामल खानु गरिव जनताको रहन हैन वाध्यता हो । सस्तो चामलको कारोवारीले गरिव जनताको स्वास्थ्य माथि खेलवाड गर्नु गंभिर लापरवाही र व्यापारीको कमाउ स्वार्थ हो । उत्पादक र विक्रेताले जनस्वास्थ्य माथि गंभिर सिकायत गरेको यो प्रकरणबाट वुझ्न सकिन्छ । वीरगंजको उत्पादक र पोखराको आयातकर्ताको यस्तो अवैध कारोवार रोक्न राज्य प्रशासनको सकृय अनुगमनको जरुरी छ ।
वीरगंज स्थित मयुर र गजराज ब्राण्डका चामलका वारेमा पनि प्रशासनले उपभोक्ता मञ्च र उपभोक्ता स्वयंले गंभिरतापूर्वक हेर्नु पर्दछ । रंगिन र आकर्षक वोरामा कुहिएका सडगलेका चामल बेच्नेहरुबाट सावधानी अपनाउनु उत्तिकै जरुरी देखिन्छ । वीरगंज प्रशासनले आफ्नो क्षेत्राधिकार भित्र रहेका खाद्य उद्योगहरुको सुक्ष्म अनुगमन र गुणस्तर जाँच गराएर मात्र खाद्य उद्योग संचालन र निर्यात गर्ने प्रवन्ध मिलाउन पर्छ ।
प्रतिक्रिया दिनुहोस्