
पोखरा : चण्डिका आधारभूत विद्यालय पोखरा–१६, अम्मरेमा भवनको भव्य शिलान्यास गरिएको छ। महाशिवरात्रीको तिथी पारेर उक्त भवनको शिलान्यास भएको हो । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री माननीय कुमार खड्का, सूचना तथा प्रदेश सभा मामिला मन्त्री माननीय विन्दुकुमार थापा र प्रदेश सांसद माननीय कृष्ण थापाले एक समारोहका विच संयूक्त रुपमा जग पूजा गरि शिलान्यास गरेका हुन् । सिलान्यास कार्यक्रममा पोखरा १६ का वडा अध्यक्ष जीवन प्रसाद आचार्य, नेपाली कांग्रेस वडा सभापति अमृत तिमल्सिना, नेकपा एमालेका वडा अध्यक्ष राजेश गुरुङ, नेकपा माओवादीका वडा अध्यक्ष निर्मल आचार्य, जनमोर्चाका गणेश अधिकारी, मातृशिशु मितेरी अस्पतालका अध्यक्ष धर्मराज थापा, जिल्ला प्राविधिक कार्यालयका प्रमुख वरिष्ठ इञ्जिनियर महेन्द्र बानियाँ, पोखरा महानगरका वरिष्ठ इञ्जिनियर सुरेन्द्र पाण्डे लगायत शिक्षा प्रेमी, विकास प्रेमी स्थानीय नागरिकहरुको वाक्लो उपस्थिति रहेको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय कुमार खड्काको विशेष पहलमा शिक्षा तथा सामाजिक विकास मन्त्रालयबाट ५० लाख बजेट व्यवस्था मिलाई विद्यालय भवन निर्माण कार्यलाई मूर्तरुप प्रदान गरिएको वताइएको छ । ४ लाख ६५ हजार ७६६ रुपैयाँ जनसहभागिता सहित कुल ५४ लाख ६५ हजार ७६६ रुपैयाँमा आगामी २०७९ वैशाख ३० गते भित्र भवन निर्माण सम्न्न गर्र्नेे गरि कार्य अघि वढेको छ । स्थानिय मोहन कुमार सुनारको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरि कार्य अघि वढाइएको छ ।
स्मरणीय छ उक्त विद्यालयले चर्चेको जग्गा मातृशिशु मितेरी अस्पतालमा गाभेर विद्यालयलाई अन्यत्र मर्ज गर्र्नेे योजना विव्यसले अघि सारेको थियो । विव्यस र तत्कालिन स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको पहलमा विद्यालय उखेल्ने योजनाको विरोधमा स्थानिय अम्मर बहादुर थापा सहितको पहलमा उच्च अदालतमा रिट दायर गरिएकोमा उच्च अदालत पोखराले विद्यालयको जग्गा अन्यत्र हस्तान्तरण गर्र्ने नमिल्ने निर्णय दिएको थियो ।
अदालतको फैसलाको सम्मान गर्दै सवै दलका नेता कार्यकर्ताहरु यतिखेर विद्यालयको दु्रततर विकास र हितमा एकत्रित भई लागेकोमा सकारात्मक सन्देश प्रवाह भएको छ । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष मोहन कुमार सुनार विकास निर्माण र शैक्षिक उन्नयनका लागि यो एकता नमूना योग्य र अनुकरणीय कार्य भएको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्