
पोखरा : पोखरा–९, १० र ११ वडाको संगम स्थल हो सेती नदीे रामघाट । सयौं श्रमिक मजदुरहरुको आश्रय स्थलको रुपमा परिचित विपन्न बस्ती रामघाटमा विपन्न वर्गलाई लक्षित गरि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको र उक्त शिविरमा २ सय बढी विपन्न व्यक्तिहरुले स्वास्थ्य जाँच गराई स्वास्थ्य लाभ लिएको खबर सराङकोट साप्ताहिकलाई प्राप्त भएको छ ।
प्राप्त खबरमा जनाइए अनुसार गण्डकी प्रदेशका कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाको प्रमुख आतिथ्यतामा उक्त शिविर सञ्चालन गरिएको थियो । प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै मन्त्री थापाले रामघाट जुनसुकै ठेकेदार वा कम्पनीले लिएपनि रामघाटका आश्रित मजदुर र परिवारको रोजगारीको सुनिश्चित गराउन आफूले हरदम पहल गर्ने बताएका थिए । पोखरा–९, नयाँबजार स्थित तमु धिं को कार्यालय परिसरमा भएको कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले श्रमजीवी मजदुर लक्षित गरि निशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा संयोजक किसन विश्वकर्मा, स्थानिय समाजसेवी टिका गुरुङले शुभकामना व्यक्त गरेका थिए ।
निशुल्क स्वास्थ्य शिविरको प्राविधिक सहयोगी संस्था पोखरा डाइविटिज एण्ड थाइरोइड क्लिनिकका अध्यक्ष राजन श्रेष्ठले निम्न वर्गीयको हितमा हुने यस्ता निशुल्क स्वास्थ्य शिविरको माग भएका खण्डमा आफ्नो संस्थाले पोखराको जुनसुकै स्थानमा पनि सहयोग स्वरुप कार्यक्रम लैजान पहल गर्ने बताएका थिए । उनले कार्यक्रमलाई सफल पार्ने सहयोगदाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए । सिद्ध मार्ग टोल विकास संस्थाका अध्यक्ष सूर्य जलारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालका १० जना चिकित्सक र स्वास्थ्यकर्मीहरुबाट विविध जाँच तथा उपचार एवम् निशुल्क उपचार उपलब्ध गराइएको ग्रिन युथ एलियन्स नेपालका सुजन विकले बताएका थिए । विरामीहरुको इको, इसिजी सहित ल्याब परीक्षण मार्फत रोग पहिचान गरि औषधी उपलब्ध गराइएको थियो ।
९ नम्बर वडा अन्तर्गतमै कार्यालय रहेको व्यवसायिक घराना बतास फाउण्डेशनको मुख्य सहयोगमा आयोजित कार्यक्रमको सञ्चालन युवा सामाजिक कार्यकर्ता रोजिना श्रेष्ठले गरेकी थिइन।
प्रतिक्रिया दिनुहोस्