
पोखरा : नेपाकै पुरानो विद्यालयको सूचीमा रहेको पोखरा महानगरपालिका वडा नं. १६, बाटुलेचौरमा अवस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालय २००४ सालमा स्थापना भएको थियो । पण्डित मुक्तिनाथ तिमिल्सिनाको अगुवाइमा स्थापित विन्ध्यवासिनी मा.वि.ले २०७८ सालमा ७५ औं वर्षमा प्रवेश गरेको छ । ७५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हिरक जयन्ती (महोत्सव) आयोजना गरेर खुसी मनाउने कार्यक्रम अघि सारिएको छ ।
हिरक जयन्तीलाई महोत्सवकै रुपमा मनाउन विन्ध्यवासिनी मा.वि.ले तयारी थालेको छ । ७५ वर्ष लामो इतिहास बोकेर शैक्षिक विरासत स्थापित गर्दै दशैं हजार विद्यार्थीहरुलाई उज्ज्वल भविष्य प्रदान गर्न सफल उक्त विद्यालयले विद्यालयको शैक्षिक क्षेत्र सँग जोडिएको व्यक्ति, व्यक्तित्व र शिक्षक, अभिभावक र आम विद्यार्थीहरुलाई समेटेर करिब दुई हजार सदस्यीय हिरक जयन्ती मूल आयोजक समिति गठन गरेको छ ।
विद्यालयको हक, हित र शैक्षिक उन्नयनमा समर्पित रहदै आएकाहरु मध्यबाट विभिन्न क्षेत्रमा समर्पित रहेका सामाजिक व्यक्तित्व, उच्च सरकारी अधिकारी, शिक्षा सेवी सम्मिलित ७५ सदस्यीय हिरक जयन्ती सल्लाहकार समिति गठन गरिएको छ । वि.व्य.स. सहित प्रतिनिधिमुलक आम भेलाबाट गठित सल्लाहकार समितिको राय सुझाव अनुसरण गर्दै विभिन्न जिम्मेवारी निर्वाह गरी हिरक जयन्ती (महोत्सव) सफल बनाउन २७ वटा विभिन्न उप–समिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले सबै उपसमितिको अध्यक्षता गर्नेछिन् भने समितिका सदस्य सचिव समेत रहेका विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यले प्रशासनिक कार्यलाई प्रत्यक्ष रुपमा तमाम गर्ने जिम्मेवारी बहन गर्ने विद्यालयका सूचना अधिकारी राम बहादुर बानियाले बताएका छन् । हाल १२ सय विद्यार्थी अध्ययनरत उक्त विद्यालय २०७५ को एस.ई.ई. परीक्षाको नतिजा अनुसार कास्की जिल्लामा दोस्रो र गण्डकी प्रदेश भरमा तेस्रो स्थान प्राप्त गरी पुरस्कृत हुन सफल भएको थियो । उक्त विद्यालयका भूतपूर्व विद्यार्थीबाट मात्रै २०७४ सालमा सम्पन्न संघीय तथा प्रदेश चुनावमा मात्र ५ जना सांसद निर्वाचित भएका थिए । संघीय सांसद जगत बहादुर विश्वकर्मा सुनार, प्रदेश सांसदहरु कृष्ण थापा, प्रभा कोइराला, कुमार खड्का र पुष्पा केसी भण्डारी रहेका छन् भने सरकारी सेवामा उच्च पदमा पुगी राष्ट्र सेवकको पहिचान हासिल गरिसकेका छन्।
विद्यालयको ७५ वर्ष पूरा गरी हिरक जयन्ती मनाउने सिलसिलामा राजधानी काठमाडौं लगायत स्वदेश तथा विदेशमा रहनुभएका सबैले साथ दिन उद्धत देखिएका छन् । विभिन्न जिम्मेवारीमा प्रत्यक्ष, अप्रत्यक्ष संलग्न रहि हिरक जयन्तीलाई सफल पार्न जुटेकोमा प्राचार्य कृष्ण प्रसाद आचार्यले खुसी व्यक्त गरेका छन् । हिरक जयन्ती सम्पन्न गर्नका लागि गठित २७ वटा उप समिति गठन गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्