
पोखरा : कास्की जिल्लामा बाइक स्कुटर चोरी गिरोह सक्रिय रहेको घटना तथ्याङ्कले पुष्टि गरेको छ । यहि आर्थिक वर्षको बितेका चार महिनामात्र ६२ वटा सवारी साधन चोरी भए । त्यस मध्ये ४२ वटा सवारी साधन फेला परेका छन् । बाँकी २० वटा सवारी साधन कहाँ गायव पारियो अझै थाहा भएको छैन । गत आ.वमा १३२ वटा सवारी साधन हराएका मध्य १०४ वटा भेटिए ।
४२ र १०४ वटा सवारी साधन भेटिए तर चोर भेटिएनन् । सवारी साधन मात्र बेवारिसे अवस्थामा फेला परे। यसरी बेवारिसे फेला परेका साधनहरु कसले चोरी गरे भन्ने बारेमा सक्रियता पूर्वक छानविन, अनुसन्धान गरि मुद्दा नचलाइंदा सवारी साधन चोरी गर्ने गिरोहको मनोबल उच्च भएका कारण चोरी घटना घट्नु भन्दा बढ्दै गएको ट्राफिक प्रहरीबाट प्राप्त सूचनाले पुस्टि गर्दै लगेको छ ।
गिरोह भेटियो तर प्रहरीले मुद्दा चलाएन
२०७७ साल चैत्रमा पोखरा–२५, हेमजाबाट इन्द्र त्रिपाठीको मोटरसाइकल चोरी भयो । बाइक हराएपछि खोजिका लागि प्रहरीलाई जानकारी पनि भयो तर पक्राउ परेन । उक्त बाइक २०७८ कार्तिकमा नदिपुर स्थित एक वर्कसपमा सवारी धनी स्वयंले फेला पारे । वर्कसपका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लियो । प्रहरीले वर्कसप सञ्चालक मार्फत उक्त चोरीको बाइक बनाउन ल्याउने व्यक्ति स्याङ्जा हरिनासका लाल बहादुर गुरुङलाई प्रहरी टोलीले बुद्धचोकबाट नियन्त्रणमा लियो । सवारी धनी त्रिपाठी चोरी गिरोहका मतियार फेला परेकोमा कारबाही हुनेमा ढुक्क थिए । अनुसन्धानमा सहयोग पुगोस् भनेर त्रिपाठीले वर्कसपमा फेला परेको बाइक वडा प्रहरी कार्यालय बगरको जिम्मा लगाएका थिए ।
प्रहरीले पक्राउ गरेको व्यक्ति लाल बहादुर गुरुङलाई भोली पल्टै आफन्त हरुको जिम्मा लगाएर छोड्यो । पक्राउ परेका चोरी मोटरसाइकल वर्कसप सम्म मर्मतका लागि लिई आउने व्यक्तिलाई प्रहरीले भोलि पल्टै छुटायो । व्यक्ति छुटेको एक महिना बढी भइसक्यो तर उक्त काण्ड अलपत्र छ । उक्त काण्डमा थप व्यक्ति कसैलाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । यस विषयमा वडा प्रहरी कार्यालय बगरका ईन्चार्ज प्र.नि. सुशिल थापा भन्छन् “चोरीमा संलग्नता देखियो तर चोर भेटिएन” । चोरी काण्डमा संलग्न मतियारलाई अनुसन्धानको दायरामा नै नल्याई छोडिए पछि चोरी काण्डमा संलग्न अरु गिरोहरुले पनि सहजै उन्मुक्ती पाएर नाका काटिसकेका छन् । पक्राउ परेर छुटेका व्यक्ति स्याङ्जा हरिनाशका लाल बहादुर गुरुङ रहेको खुल्न आएको छ। गुरुङका अनुसार तनहुँ तेक्रे भन्ने ठाउँका अनिल थापा भन्ने व्यक्तिबाट उक्त बाइक आफूले पाएको बताए । कागज पत्र केही नभएको उक्त बाइक लिएका लाल बहादुर गुरुङले बाइक मर्मतका लागि पोखरा–३, नदीपुरको वर्कसपमा ल्याएको पनि हामीसँग स्वीकार गरेका छन्। गुरुङ भन्छन् अहिले आफूलाई मोटरसाइकल दिने व्यक्ति अनिल थापा भारत गएका छन् ।
प्रहरीले हातमै आएको गिरोहलाई उम्काएको छ । बाइक चढ्ने व्यक्ति गुरुङ र अनिल थापा घर परिवार बीच नै परिचित व्यक्ति रहेको खुल्न आएको छ । चोरी बाइक प्रयोग गर्ने व्यक्तिलाई घर परिवारको जमानतमा छोड्ने प्रहरीले कहिले पक्राउ गरेर कानूनका कार्यान्वयनमा सफलता हासिल गर्ला ? बाइक धनीले कहिले न्याय पाउलान् ? पक्राउ परेका आरोपी व्यक्तिको भनाइमा विस्वास गरेर गिरोह छुटाइएको यो घटनाले सवारी साधन चोरी घटनालाई थप बढावा दिने सम्भावना देखिएको छ ।
यो प्रकरण सामान्य हो भन्न सकिदैन । यसमा ठूलो सन्देश लुकेको हुन सक्छ । आज सम्म हराएका सयौं सवारी साधनका चोर र मतियारहरुको मनोबल स्वत बढ्न सक्ने त छ नै पिडितहरु अझ बढी चिन्तित देखिन्छन् । ट्राफिक प्रहरीको चेक जाँचमा हुने कमी कमजोरीबाट उम्कने सवारी साधन चोरी गिरोहलाई कडाइका साथ निगरानी गर्दै दायरामा ल्याउन जरुरी देखिन्छ।
प्रतिक्रिया दिनुहोस्