जैविक खेती आजको आवश्यकता

विन्दुराज सापकोटा

पृष्ठभूमी
एउटा उखान छ उत्तम खेती, मध्यम बान(व्यापार), निषिद्ध चाकरी (जागिर), भीख निदान । यसको अर्थ यहाँ सबैले बुझ्नु नै हुन्छ । मानवको लागि खेती सबभन्दा उत्तम कोटिको कार्य मानिएको छ । इनै सिद्धान्तहरुलाई आधार मानेर खेती किसानीको संस्कृती यो रह्यो कि जब किसान आफ्नो खेतमा बाली लगाउन प्रारंभ गर्दथ्यो त्यसबेला धरतीसंग प्रार्थना गर्दथ्यो– “हे धरतीमाता मैले जुन यो बिउ रोप्दै छु,उसको बदलामा मलाई यति अन्न दिनुहोला कि घर आएका अतिथिलाई, बटुवालाई, भिक्षुकलाई, चराचुरूँगी, काग–हांसको साथै सबै जीव–जन्तुहरुलाई, दाजुभाई–दीदी बैनिहरुलाई पुग्ने गरि दिनु। यसबाट बचेको अन्न मलाई दिनुहोला हे दाता” ।
कृषि लगभग १०,००० वर्ष पहिले जतिबेला हिमयुग समाप्त हुदै थियो र ग्लेशियर छिटो छिटो खुम्चिदै थिए, मानव समाजमा प्रारम्भ गर्यो र यस्तो मानिन्छ कि आजभन्दा ४००० वर्ष पहिले चीन र भारतमा प्रारम्भ भै केहि बर्ष पछिनै नेपालमा पनि प्रारम्भ भएको थियो । शुरु देखि नेपालको कृषि प्रणालीमा, जैविक÷प्रांगारिक कृषि परम्परागत कालदेखी नै अवलम्बन हुदै आएको छ । सन् १९६० को दशकसम्म नेपाली कृषकहरु कृषि रसायन (रासायनीक मल तथा विषादी) प्रति अनभिज्ञ नै थिए र जैविक खेती नै गर्दै आएका थिए । नेपालको लागि “जैविक खेती प्रणाली” नयाँ भने होइन । यो प्राचीनकाल देखि नै गरिदै आइएको खेती प्रणाली हो । अझै पनि नेपालको विशेष गरेर मध्य देखी उच्च पहाड सम्म रासायनिक मल र विषादीको प्रयोग अत्यन्त न्यून छ ।
यहाँ सम्झिनु पर्ने कुरा के छ भने, कृषिमा आधुनिकिकरण तथा ब्यवसायीकरण गरी बढी मुनाफा कमाउने अथवा बढी फाइदा लिने प्रलोभन देखाई भारतमा सन् १९६० को दशक देखि रासायनिक खेती प्रविधि भित्रिएको थियो भने त्यसको केहि बर्ष पछिबाट नै नेपालमा पनि यसले प्रवेश पाएको थियो । जसको कृषि बैज्ञानिक तथा कृषकहरुले खुलेर प्रसंसा गरेका थिए । त्यस समय भारतमा रासायनिक खेतीलाई “हरित क्रान्ती”को नाम समेत दिईएको थियो । अहिले आएर यो प्रविधिका कारण स्वास्थ्यमा गम्भिर असर पर्ने गरेको प्रमाणित भैसकेको छ । खासगरी रासायनिक खेतीले मानव शरिरमा रोग प्रतिरोधात्मक क्षमतामा कमि ल्याएर बिभिन्न खाले घातक रोगहरुको माहामारी बढाउनुका साथै क्यान्सर, उच्च रक्तचाप, हृदयघात, मुटु, कलेजो र फोक्सो बिग्रने खालका रोगहरुलाई निम्त्याउँने कुरा बिभिन्न अध्ययनले देखाएको छ । यसरी यस प्रविधिबाट बिभिन्न रोगको शिकार हुनुका साथै युवायुवतीहरुमा बाँझोपनको संख्यामा पनि बृद्धि हुदै गएकोले यो प्रबिधि खेतीपातीको लागि अभिसाप सिद्ध भएको छ । बहुसंख्यक बैज्ञानिकहरुको राय के छ भने जि.एम. खेती अरु बढी खतरनाक छ, जसले मानिसहरुमा विमारीसंग लड्ने क्षमतालाई नष्ट गरिदिनुका साथै बालबालिकाहरु जन्मजातनै कमजोर भएर जन्मिने गर्दछन् ।
वैज्ञानिकहरुले भनेका छन कि, किसानले यहि तरिकाले रासायनिक मलखाद र बिषादी प्रयोग गर्दै रहनेहो भने सारा विश्वको धरती अबको ६० वर्षमा उब्जाउ गर्न अयोग्य हुन जानेछ, किनभने विश्वको मलिलो माटो प्रति बर्ष ७५ अर्ब टन बेकार हुँदै गैरहेको छ र ८० प्रतिशत किसानको खेतको माटोको उब्जाउ शक्तिमा असर परिरहेको छ ।
यी र यस्तै कारणहरुले गर्दा नेपालमा गैर सरकारी संस्था “इन्स्टीच्युट फर सस्टेनेवल एग्रीकल्चरल नेपाल (इन्साल)” मार्फत सन् १९८६ देखि पुनः प्रांगारिक कृषिको अभियान थालनी भएको र यसको नेतृत्वदायी भूमिका “पर्माकल्चर ग्रुप”ले सन् १९९२ देखि प्रारम्भ गरेको हो । नेपाल लगायत विश्व बजारमा प्रांगारिक÷जैविक कृषि उपजको बढ्दो मागलाई मध्यनजर गरी नेपाल सरकार का साथै बिभिन्न गैर सरकारी संघ, संस्था तथा निजी क्षेत्रको पनि जैविक खेती प्रविधिमा संलग्नता बढेको पाइन्छ । यसै सन्दर्भमा “कृषि व्यवसाय प्रवर्धन तथा बजार विकास निर्देशनालय”ले प्रांगारिक कृषि–उपजको बारेमा जानकारी गराउने उद्देश्यले प्रत्येक बर्ष राष्ट्रिय स्तरमा “प्रांगारिक मेला” प्रदर्शन गर्दै आएको छ । यस मेला प्रदर्शनमा प्रांगरिक कृषि उत्पादक, व्यापारी, प्रवर्धक तथा सेवा प्रदायकले भाग लिने गरेका हुन्छन् ।
जैविक कृषिको परिभाषाः
जैविक खेती कृषि उत्पादनको एउटा यस्तो व्यवस्था हो जसले सबै प्रकारको कृत्रिम निवेशहरूको प्रयोगलाई प्रतिबन्धित गर्दछ, माटोलाई उब्जाउ बनाउँछ तथा ‘फसल चक्र’को विविधिकरणलाई आवश्यक बनाउंछ । विभिन्न बाली, घांस, चारा एवं बाली र पशुहरूको बीच पूरक–एकताको प्रविधिलाई अपनाउँछ । यसले कृषि, जलवायु, स्वास्थ्य, जैविक विविधता सहित अनेक जैविक चक्रहरु एवं माटोको जैविक गतिविधि हरुलाई संवर्धन एवं विकसित गर्दछ । जैविक या प्राकृतिक खेतीको उचित ब्यवस्थापनले जल प्रदुषणलाई घटाउँछ, अथवा समाप्त पारेर खेतमा पानी र माटोलाई, संरक्षित गर्नमा मद्दत गर्दछ ।
‘जैविक खेती त्यो हो जसमा प्राकृतिक संसाधनहरु तथा उत्पादनहरूको उपयोग गरिन्छ र यसको साथै यसले प्राकृतिक संसाधन हरुलाई समृद्ध पार्दछ । खेतीको यस पद्धतिमा कृषि रसायनहरु जस्तै रासायनिक उर्वरकहरु, किटनाशकहरु र झारपात–नाशकहरुसंगै जी.एम. बिउहरूको पनि उपयोग गरिदैन ।’
जैविक खेती अभियान सम्बन्धी अन्तर्राष्ट्रिय महासंघले जैविक खेतीलाई यसरी परिभाषित गरेको छ । जैविक खेती यस्तो उत्पादन पद्धति हो जसले जमिन, पर्यावरण चक्र र मानिसहरूको स्वस्थ्यमा दिगोपना कायम गर्दछ। यो पर्यावरणीय प्रक्रिया, जैविक विविधता र स्थानीय परिवेशसंग अनुकूलित चक्रमा निर्भर गर्दछ, प्रतिकूल प्रभाव पार्ने वस्तुहरूको प्रयोगमा होइन । जैविक खेती पद्धतिमा वातावरणीय सन्तुलन, पारस्परिक सुमधुर सम्बन्धको संवर्धन तथा सम्बद्ध सबैको जीवन–स्तरमा सुधार ल्याउने उद्देश्यले परम्परा, नवीनता, र वैज्ञानिक आविष्कारहरूलाई समेत समाहित गरिन्छ ।
“जैविक खेती प्रविधि”मा दिगो कृषि तथा “वातावरण मैत्री खेती विधी” प्रयोग गरी बोटविरुवा उत्पान गरिने भएकोले यसले “ग्लोबल वार्मि·” कम गरी जनस्वास्थ्य, मानव समुदाय, सुरक्षित खाना, राम्रो पोषण र पशु कल्याणको संरक्षण गर्दछ ।

जैविक खेतीका उद्देश्यहरु :

१. प्रकृति संग सामन्जस्य राख्दै उच्चस्तरको खाद्य पदार्थहरूको उचित मात्रामा उत्पादन गर्नु ।
२. भूमि तथा त्यस नजिकको वातावरणको उर्वरता शक्ति, अनुबंशिक(जेनेटिक) विविधतालाई सदैव बनाएर राख्नु  ३. कृषिमा जैवीय चक्रमा वृद्धि गर्नु जसले सूक्ष्म जीव, माटो, रुख, बोट–बिरुवा र जनावर पनि सम्मिलित छन ।
४. जलश्रोतहरु र त्यसमा पाइने जीवहरूको स्वस्थ प्रयोग गर्नु ।
५. कृषि उत्पादन र पशुपालनको बिच सामन्जस्य बनाएर राख्नु ।
६. सबै प्रकारको प्रदूषणहरुलाई कम गर्नु ।

परिदृश्य (वस्तुस्थिति) :

“द वल्र्ड अर्गानिक एग्रीकल्चर–२०१९” का अनुसार वर्तमान विश्वको जम्मा ३७ प्रतिशत जमिन खेती–योग्य रहेको छ जसमध्ये १८१ देशहरूमा ६९.८ मिलियन हेक्टरमा २.९ मिलियन कृषकहरुले जैविक खेती अपनाई आएका छन् । विश्वको कुल भू–भागको १.४ प्रतिशत र कुल कृषि क्षेत्र(१६०० मिलियन हेक्टर)को मात्र ४.३६ प्रतिसत जमिनमा जैविक खेती गरिन्छ । यस क्षेत्रमा माथिल्लो देश अस्ट्रेलिया ३५.६ मिलियन हेक्टर, अर्जेन्टीना ३.४ मिलियन हेक्टर, चीन ३ मिलियन हेक्टर र १३ औं नंबरमा भारत ५२८१७१ हेक्टरमा जैविक कृषि अपनाइएको छ तर यो भारतको कुल कृषि क्षेत्रफलको मात्र ०.३ प्रतिसत छ र जैविक खेतीमा संलग्न कृषकको संख्या भारतमा ८३५,२००, युगान्डामा २१०,३५२ र मेक्सिकोमा २१०,००० रहेको छ । बजारीकरण तर्फ हेर्ने हो भने विश्व बजारमा बार्षिक ९७ बिलियन डलर(९० बिलियन यूरो) बराबरको कारोवार हुने गरेकोछ जसमा अमेरीकाले ४० बिलियन, जर्मनीले १० बिलियन, फ्रान्सले ७.९ यूरो र चिनले ७.६ यूरो बराबर कारोवार गर्दछन् त्यस्तै गरी स्वीजरल्याण्ड प्रति ब्यक्ति २८८ यूरो जैविक उपजहरुमा खर्च गरेर सबै भन्दा बढी खर्च गर्ने मुलुकमा पर्दछ ।
नेपालको सन्दर्भलाई हेर्ने हो भने नेपालमा कूल खेतीयोग्य जमिनको ०.२८ प्रतिशत अर्थात ११,८५१.२ हेक्टर क्षेत्रफलमा ब्यवसायिक रुपमा जैविक खेती गरिन्छ भने उत्पादकको संख्या २४७ रहेको छ । नेपालमा कृषिबाट कुल ग्राहस्थ उत्पादनमा २५.२९ प्रतिशत योगदान मानिदैछ र नेपालको ६५ प्रतिशत जन समुदायको जीवन–यापन कृषि माथि निर्भर रहेको छ भने कुल २८.७५ प्रतिशत भू–भागमा खेती गर्ने गरिन्छ ।

जैविक खेतीबाट उब्जनी :

विश्व भरको जनतासामु यो प्रश्न उपस्थित छ कि, के जैविक खेतीले पर्याप्त मात्रामा अन्न उत्पादन गर्न सकिन्छ, जसले विश्वको ७.५ अरब मानिसहरूको पेट भर्न सकियोस्? कृषि वैज्ञानिकहरुले हामीलाई सावधान गरिरहेका छन कि सन २०५० आउंदा सम्म हामीलाई ३०० मेट्रिक टन धानको आवश्यकता पर्नेछ । सबभन्दा ठुलो प्रश्न यो छ कि, के जैविक कृषिले विश्वको लगातार बढदो जनसंख्याको खाद्यान्न आवश्यकतालाई पूरा गर्नसक्छ? खेतीको कामसंग जोडि़एका जनसमुदायको अघाडी एउटा मुख्य प्रश्न यो पनि छ कि के जैविक खेतीले कृषि उत्पादन बढछ वा फेरि घटन पनि सक्छ ?
यस्तो पाइएको छ कि जैविक कृषि अपनाउनले रसायन आधारित कृषिको सट्टा प्रारम्भमा १० देखि १५ प्रतिशत उत्पादनमा कमी आउँछ तर यो घाटा रासायनिक खेतीको अनुपातमा कम लागतले पूरा भइहाल्छ । जैविक खेती देशमा बढदो अन्नको माँगको पूर्तिको एक विकल्पको रूपमा उदाइरहेको छ । ब्रिटिश बोटेनिष्ट ‘सर अलबर्ट होवार्ड जसलाई जैविक कृषिको जनक पनि भनिन्छ’ ले आफ्नो अध्ययनमा भारतीय परम्परागत जैविक कृषिलाई रसायन आधारित कृषिभन्दा उत्तम पाएका थिए। यस विषयको एक सुखद पक्ष यो हो कि, विश्वभरमा जैविक कृषिको क्षेत्रफलमा प्रति दशक २० प्रतिशतको बृद्धि भइरहेको छ तथा तीव्र रूपले बढिरहेको विश्वको जनसंख्यालाई खाद्यान्नको आवश्यकता पुरा गर्नको लागि “आधुनिक रसायन आधारित खेतीको” विकल्पको रुपमा आएको छ । जैविक तथा प्राकृतिक खेतीमा यस्तो क्षमता छ कि, मानव जाती जो आज बिरामी छ त्यसबाट मुक्ति पाउन सकिन्छ।

जैविक खेतीका फाइदाहरु :

१. रोजगारको दृष्टिलेः
– जैविक खेती मानव श्रममाथि आधारित छ । यस खेतीमा मेशीनको प्रयोगको ठाउँमा मानव श्रमको बाहुल्य हुने भएकोले मेशीनहरूको प्रयोग एकदमै कम हुन्छ ।
२. माटोको वृद्धिलेः
– जमिनको उब्जाऊ क्षमतामा बृद्धि ।
– वालीहरुको उत्पादकत्व र गुणस्तरमा बृद्धि ।
– जैविक मलखादको प्रयोगले माटोको गुणस्तरमा बृद्धि ।
– जमीनबाट पानीको वाष्पीकरणमा कमी ।
– जमीनको पानी सोस्ने र ग्रहण गर्ने क्षमतामा बृद्धि ।
३. किसानको दृष्टिलेः
– रासायनिक मलखाद र विषादी माथिको निर्भरतालाई कम गर्नुका साथै उत्पादन लागत कम हुनु ।
– पारिवारिक सामूहिकतालाई बढावा ।
– धर्तीमा मानव जीवनको संरक्षण ।
– पशुधनको संरक्षण एवं उपयोग।
४. पर्यावरणको दृष्टिलेः
– जैवकि विविधतालाई बढावा दिन्छ ।
– प्रकृति र मानव आधारित छ।
– वनस्पति तथा जीवहरूको संरक्षण गर्छ ।
– भूमीगत जल भण्डारण क्षमतामा बृद्धि हुन्छ ।
– माटो, खाद्य पदार्थ तथा जमीनमा पानीको माध्यमबाट हुने प्रदूषणमा कमी आउंछ ।
– पर्यावरण संरक्षणमा टेवा पुग्छ।
५. स्वास्थ्यको दृष्टिलेः रोग प्रतिरोधात्मक क्षमतामा बृद्धिका साथै मानवको स्वास्थ्यमा सुधार हुन जान्छ ।
६. कुहिने खालका फोहरहरु जैविक मल बनाउनमा प्रयोग गरीने भएकोले फोहरमैला ब्यवस्थापनमा सहयोग पुग्छ ।
७. जैविक उत्पादनलाई अन्तर्राष्ट्रिय बाजारको प्रतिस्पर्धामा ल्याउन सहज हुन्छ ।

नेपालमा जैविक खेतीका समस्याहरुः

१. प्रारम्भमा रासायनिक खेतीको दाँजोमा जैविक खेतीको उत्पादन कम हुन्छ ।
२. जैविक बिउबिजन, जैविक मलखाद तथा जैविक विषादीको अभाव ।
३. जैविक खेतीको लागि आवश्यक विशेष ज्ञान र त्यस ज्ञानको प्रचार प्रसारको सरकारी व्यवस्थामा कमी ।
४. हरित क्रान्ति(रासायनिक कृषि) जस्तै जैविक खेतीलाई सरकारी स्तरमा प्रोत्साहन र समर्थन नहुनुको बराबर ।
५. जैविक खेती मानव श्रममा आधारित हुने र शहरी क्षेत्रमा खेतमा काम गर्ने मानिस नै नपाइने हुँदा खेती गर्न निकै मह·ो पर्ने ।
६. जैविक खेतीमाथि एक ठोस, विस्तृत र व्यवहारिक कार्यक्रम छैन र जो छ त्यसमा पनि एकरूपता छैन ।
७. जैविक खेतीको एक गंभीर संकट यो पनि छ कि आजको किसानको छोराले खेती गर्न चाहदैन, जागिर खाने मानसिकताको सर्वत्र बोलबाला छ ।
८. जैविक खेती तथा जैविक उत्पादनको महत्वका विषयमा उपभोक्ता तथा उत्पादकहरूमा सचेतनाको अभाव ।
९. जैविक उत्पादनहरुलाई बाजारमा प्रवेश गराउनु सजिलो छैन त्यस्का लागि सरकारी अभियान, योजना, नीति तथा सहयोगको अभाव।
१० किसान र कृषि व्यापारी आफ्नो उत्पादनहरुलाई विदेशी बाजारमा बेच्न चाहन्छन् तर जैविक उत्पादनहरुको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रमाणीकरणमा समस्या रहेको छ ।

जैविक खेतीलाई कसरी सम्वर्धन गर्ने?

क. सरकारी नीति तथा कार्यक्रमहरूमा बजार तथा व्यापारमुखी कृषि उत्पादनलाई भन्दा जैविक उत्पादनलाई महत्व दिएर ।
ख. जैविक खेतीको उत्पादन लागत बढी हुने हुँदा नेपाली किसानहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न समस्या परेकोले सरकारले जैविक कृषकहरूलाई उत्पादन लागत घटाउन सहयोग प्रदान गर्नु पर्दछ । सरकारले उत्पादनको आधारमा अनुदान दिएर उत्पादित वस्तुलाई सहज रूपमा बजारसम्म पुर्याउन मदत गरेर ।
ग. कृषकबाट उत्पादित जैविक बस्तुको उत्पादन लागतको आधारमा न्यूनतम बजार मूल्य कायम गरी कृषकको आवश्यकतामा सरकारले बिक्री बितरणको ग्यारेन्टी गरेर ।
घ. सहकारीको माध्ययमबाट जैविक खेतीको लागि आवश्यक पर्ने जैविक मल तथा बिषादीको ब्यवस्थापन तथा स्थानिय रैथाने जातका बिउबिजनहरुको संरक्षण गरेर ।
ङ. चेतनाको अभावका कारण उपभोक्ताहरू जैविक उत्पादनका लागि बढी मूल्य तिर्न तत्पर नहुने अबस्थामा कृषकहरूले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यस्तो अबस्थामा सरकारले मूल्यमा अनुदान तथा उत्पादित वस्तुको बिमा गर्नु कृषकहरूका लागि सबैभन्दा महत्वपूर्ण प्रोत्साहन हुन्छ । साथै जैविक खेतीको विकासका लागि तालिम, अनुसन्धान तथा प्रविधि(विकास, प्रमाणीकरण र विस्तार) सम्बन्धी स्वतन्त्र तथा अन्तर्सम्बन्धित सञ्जालको निर्माण तथा ब्यवस्थापन गरेर ।
च. जैविक उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नका लागि जैविक प्रमाणीकरण महत्वपूर्ण हुन्छ तर साना किसानहरूले जैविक प्रमाणीकरण प्रक्रियामा लाग्ने अतिरिक्त खर्च तथा समयको जोहो गर्न नसक्ने भएकोले, किसानहरूलाई जैविक प्रमाणीकरणमा उत्प्रेरित गर्नका लागि प्याकेज कार्यक्रम सञ्चालन गरेर ।
छ. हाल देशमा भएका शैक्षिक तथा तालिम प्रदायक संस्थाहरूमा जैविक खेती सम्बन्धी पाठ्यक्रम तथा क्रियाकलापहरू पनि सीमित मात्रामा भएकोले जैविक खेतीको विस्तारका लागि आवश्यक पर्ने विज्ञ तथा तालिम प्राप्त व्यावसायिक जनशक्ति उत्पादन र विकासका लागि सबै तहका शैक्षिक तथा तालिम प्रदायक संस्थाहरुका शैक्षिक कार्यक्रमहरूमा जैविक उत्पादन सम्बन्धि पाठ्य–सामाग्री समावेश गरेर ।
(कृषिमा स्नातक तह सम्म अध्ययन गर्नु भएका सापकोटा हाल प्रकृति–मानव केन्द्रित जन अभियान, नेपालको उपाध्यक्ष हुनुहुन्छ ।)