
पोखरा प्रवेश गर्ने दुई मुख्य नाकामा वर्षो देखि अवैध असुली जारी रहेको पाइएको छ। पृथ्वी राजमार्गको डाँडाको नाक ट्राफिक प्रहरी सँगै र सिद्धार्थ राजमार्गको छोरेपाटन प्रहरी चौकी सँगै पोष्ट राखेर पोखरा उद्योग वाणिज्य संघले मालवाहक ट्रक ट्रिपर र कन्टेनरसँग अवैध ढंगले रकम असुली गर्दै आएको खवर यस अघि पनि सार्वजनिक भएको थियो।
गत पुष महिनामा ढुवानी व्यवसायीले उजुरी गरेका कारण कास्की प्रशासनले केही समयका लागि दुवै ठाउँमा भइरहेको असुली रोक लगाएको थियो । तर केहि समय लगत्तै उद्योग वाणिज्य संघले असुली कार्यलाई सूचारु गरेको थियो रोकिएको असुली पुन सुचारु हुँदा कास्की प्रहरी मौन रहन वाध्य भएको थियो ।
राष्ट्रिय राजमार्गमा सरकारले टेण्डर दिएको सडक वोर्ड नेपाल भन्दा वाहेक अन्य कुनै पनि निजी स्तरका संघ संस्थाले पोष्ट राखेर रकम, चन्दा उठाउन पाउँदैन तर गण्डकी प्रदेशको राजधानी शहर पोखरा जोड्ने दुई मुख्य नाकामै प्रहरीकै अगाडि पोखरा उद्योग वाणिज्य संघले पोष्ट खडा गरेर अवैध ढंगले रकम उठाइरहेको छ । ट्राफिक प्रहरी पोष्ट र सामुदायिक प्रहरी सेवा केन्द्र डाँडाको नाक गेटमै वसेर वार्षिक लाखौं रुपैयाँ असुली गर्दै आइरहेको छ तर पनि राज्यका नियमनकारी निकाय, प्रहरी प्रशासनको मौनता लाई रहस्यमयी रुपमा हेरिएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल सरकारको अनुमती विना राजमार्गमा पोष्ट राखेर पैसा उठाउन नपाईने वताउँछन्। कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना पनि राजमार्गमा हुने कुनै पनि असुलीलाई अवैध कार्य हुने वताउँछन् यस्तै प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र वस्यालको भनाई पनि राजमार्गमा राज्यको अनुमती वेगर कसैले पनि रकम उठाउन नमिल्ने वताउँछन् तर पनि मुख्य राजमार्ग त्यो पनि प्रहरीकै आडमा व्यापारीहरुको संस्था पोखरा उद्योग वाणिज्य संघले खुल्लेआम रुपमा रकम असुल गरिरहेको छ। कसको आदेशमा भइरहेछ अवैध असुली ?
कास्की प्रहरी प्रमुख एस.पि. रानासँग हामीले प्रतिकृया लिएपछि असुली प्रकरणका वारेमा तत्काल छानविन गर्न इप्रका डाँडाको नाकका इञ्चार्ज प्र.ना.उ मोहन खाँणलाई निर्देशन दिएको वुझिएको छ ।
पोखरा उद्योग वाणिज्यले विगत २० वर्ष देखि राजमार्गमा अवैध असुली गरी रहेको वताइएको छ । पोखरा उद्योग वाणिज्य संघले सामाजिक कार्यमा खर्च गर्न राजमार्गमा रकम उठाइएको वताएको छ । संघका अध्यक्ष दामु अधिकारीले भने संघका गतिविधि संचालन गर्न रकम उठाइएको हो।
हार्डवेयर एसोशिएसनको पनि असुली
राजमार्गलाई कमाई खान भाँडो वनाउनेमा हार्डवेयर एसोसिएसन पनि मुछिएको छ। एसोशिएसनले पोखरा प्रवेश गर्ने निर्माण सामाग्री रड, सिमेन्ट सेनटरी समान वोकेका मालवहाक ट्रकहरुवाट छुट्टै एक सय रुपैयाँ असुल गरिरहेको वुझिन आएको छ । पोखरा उद्योग वाणिज्य संघ र हार्डवेयर व्यवसायी संघ दुवैले आफूखुसी विल छापेर रकम उठाउँदै आएका छन् । सराङकोट लाई प्राप्त विल प्रमाण अनुसार ति दुवै संस्थाले राज्यको आधिकारिक निकायवाट अनुमती लिएका छैनन्।
पोखरा उद्योग वाणिज्य संघले मात्र वार्षिक झण्डै २० लाख रुपैयाँ उठाउँदै आएको संघले वताएका छ भने हार्डवेयर व्यवसायी संघले कति लाख उठाउँछ त्यो भने खुल्न सकेको छैन ।
यातायात क्षेत्रको सिण्डिकेटको विरोध गर्दै आएको उद्योग वाणिज्य संघ आफै सिण्डिकेट लादेर राजमार्गमै ट्रक व्यवसायी संघ वर्षौ देखि अवैध ढंगले असुली गर्दै आएको छ ।
केहि वर्ष अघि सम्म मालवाहक ट्रकहरु वाट गुण्डाहरुले राजमार्गमै असुली गर्दै आएका थिए । प्रहरी सकृयता र निगरानी पछि राजमार्गमा अवैध असुली गर्ने गुण्डाहरु न्यूनिकरण भएका छन्। तर यता प्रहरीकै आडमा पोष्ट थापेर छोरेपाटन चौकी र डाँडाको नाक चौकीको वलमा पोखरा उद्योग वाणिज्य संघ र हार्डवेयर व्यवसायी संघले खुल्लम् खुल्ला अवैध असुली जारी राखेको छ । यस वारेमा सुशासनको ढोल पिटेर नथाक्ने सरकारले कस्तो कारवाही गर्ला त्यो भने हेर्न वाँकी नै छ ।
प्रतिक्रिया दिनुहोस्