हामी निमुखो हुनु परेको कारण हाम्रा मार्गदर्शक देश बनाउने जिम्मेवार लिनु भएकाहरुको कुशल रणनीतिको मिठो फल हो । जसले विकृति, विसंगती, अनैतिकता र भ्रष्टाचारजस्ता अमूल्य सम्पत्तिहरुलाई मलजल गरिरहेका छन् । आजको परिवेशले भावि सन्ततीहरुलाई सिकाएको छ । तिमी सधै परजिवी बन, आफूले केहि गर्नुपर्र्दैन, अरुले गरिदिन्छन्। तिमी बसेर खानु अर्थात् अरुले गरेका विकासका स्रोत साधनहरुलाई उपयोग गर्ने। उनीहरुले उत्पादन गर्दा १०–२० प्रतिशत मुनाफा कमाउछन् । त्यसबस्तु आयत गरि १ सय बाट २ सय प्रतिशत कर लगाउने । अनी भएन त दिन गुणा रात चौगुणा ? किन दुखः गर्ने ?
यही हाम्रो नियती बनेको छ। इतिहासबाट पनी हामीले अग्रजहरुको संस्कार सिकेका छौ जस्तै श्री ३ महाराज चन्द्र शमशेरले बनाएको दरबार सिंहदरबारको नामाकरण गर्नुको लक्ष्य र त्यस भित्रका कुकर्मका विरासतलाई आजसम्म अक्षरशः पालना गर्नु हाम्रा आशा भरोसा लिएर गद्धासिनज्यूहरुलाई नमन गर्नै पर्दछ। नत्र त नेपाली संस्कारको खिल्ली उड्छ। नेपाली गाथाको अपमान हुन सक्छ। सिंहदरबार नाम मात्र होइन त्यहाँ विराजमान भएपछि सबै सिंह जस्तै हुनु स्वभाविक नै हो । हामी नेपालीहरु बास्तवमा आज पनि एउटै मन, भावना र राष्ट्रप्रेमद्वारा ओतपोत छौं तर पनि हाम्रा नाइकेहरुद्वारा हामीलाई छिन्न–भिन्न पार्ने प्रयासहरु भइरहेका छन्। जनता जनार्दन कुनै राजनैतिक दलहरुको पेवा होइनन् स्वयम् आफै स्वतन्त्र छन् भन्ने धारणा विगतका संघीय र स्थानीय निर्वाचनको परिणामबाट छर्लङ्ग भएको छ। तर पनि केही झुण्ड र निहित स्वार्थ भएकाहरुले अनावश्यक जातजाति, धर्म जस्ता पवित्र मूल्य मान्यताहरु लाई छेडखानी गर्न सल्बलाई रहन्छन्। हाम्रो भातृत्वमा खलल पु¥याइ एक आपसमा द्वन्द्व सृजना गर्ने प्रबृतिको विकास राजनीतिमा मात्र नभएर विशुद्ध सामाजिक संघ संस्थाहरुमा पनि रोग बनेर सलबलाई रहेको उदाहरणहरु हाम्रा सामुन्ने आइरहेका छन्। यो कुरा अवश्य पनि नितान्त अशोभनिय साथै अनैतिक बन्न पुगेको छ। एउटा विशुद्ध व्यापारिक संस्था पोखरा उद्योग वाणिज्य संघ नै ज्वलन्त उदाहरण बन्न पुगेको छ। जसको गाथा आज आएर राजनैतिक कुप्रभावको दलदलमा फसीरहेको छ। जसले गर्दा केही व्यक्ति विशेषलाई तत्कालीन फाइदा भने भएको होला तर संस्थाको विकास र मूल्य मान्यतामा आँच त अवश्य पु¥यायो नै । यो त हाम्रो र हामीले सृजना गरेर बनाएको संस्था जसो गरेपनि ठिकै भयो। सन्तुष्टी गर्नु नै पर्ने भयो तर आज त हामीमाझ एउटा होड चलेको छ अन्तराष्ट्रिय क्लबहरुको सदस्यता ग्रहण गर्ने। मौका परे विदेश पनि भ्रमण गर्ने आदि आदि।
त्यस्तै कुरा यो पंक्तिकारलाई स्मरण हुन गयो। जब म कलेजको विद्यार्थी थिए त्यस वखत हाम्रा अग्रजहरु लायन्स क्लबको मेम्बर हुनुहुन्थ्यो। हामीलाई लाग्दथ्यो ओहो¤ यस्तो अन्तर्राष्ट्रिय क्लबको सदस्य कहिले बनिएला ? कति गर्व महशुस हुन्छ होला ? अझ त्यस क्लबको सदस्य बन्न आमन्त्रीत हुनुपर्छ । यदि कोही व्यक्ति सक्षम छन् भने मात्र क्लबको सदस्य बन्न विस्वास योग्य हुन्छन् । लामो प्रोसेसबाट नै सदस्य बन्न पाइन्छ रे । तर आज हाम्रा सामु सयौं लायन्स क्लबका सदस्यहरु देख्न पाइन्छ। सायद हामी नेपाली र नेपालको समृद्धिको प्रतिफल नै होला। गौरव गर्न सक्छौं हामी पनि उचाईमा पुग्दै छौं। हाम्रा दुखः हरुमा लायन्सहरुद्वारा राहत, स्वास्थ्य शिविर जस्ता सामाजिक कार्यहरु धेरै हुने गरेका छन्। साथै क्लबको गरिमा आफ्नै स्थानमा रहेको छ। संस्थाको मूल्य मान्यता अनुरुप नै संचालन भैरहेका होलान्।
सायद आज आएर क्लबको मूल्य मान्यता माथि केही निहित स्वार्थले हावी हुन खोजेको त छैन ? जसरी हाम्रो एकता र गरिमामाथी रोग भएर लागेको त छैनन् ? यस्ता प्रश्नहरु अहिले मोफसलमा गाईगुई हुने गरको छ। जसले एक पवित्र संस्थालाई कालो पोत्न नपाओस्। बिखण्डनकारीहरुको जालोमा नपरोस्। जसरी हाम्रो देश संक्रमणकालिन अवस्थाबाट मुक्त हुन नसकेको अवस्था उजागर नै छ।
अब समय आएको छ । गरिमा बचाउने, मूल्य र मान्यता लाई शिरोपर गरेर अगाडि बढाउने, बलियो रोग प्रतिरक्षात्मक औषधिले सफा गर्ने, सामाजिक संघ, संस्थाहरुमा गिद्धे दृष्टि लगाउनेहरुलाई सबक सिकाउने, साथै राजनैतिक कु–प्रभावबाट टाढा राखेर भावी सन्ततीहरुलाई गौरव महशुस गर्न सक्ने दिशा निर्देशन गर्ने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments