लेखनाथमा ३ सयवटा सालको रुख गायव

सराङकोट न्यूज
19 March, 2019 6:30 am
Advertisements

पोखरा महानगरपालिका वार्ड नं. ३० लेखनाथ खुदी स्थित सुके डाँडाको करिव ३ सय वटा सालका रुख रहस्यमय ढंगले गायव पारिएका छन् । अघिल्लो हप्ता सम्म हरियो सालधारी देखिने उक्त डाँडा यो हप्तामा उजाड पारिएको छ । महानगरपालिकाको सुगम स्थानमा रहेको उक्त सालधारी वन एकाएक सखाप पारिएको घटनामा डेढ किलोमिटर दुरीमा रहेको लेखनाथ सव डिभिजन वन कार्यालयको वलियो मिलेमतो रहेको पाइएको छ ।
नेपालको वन सम्बन्धि कानुनमा सालको काठ कटान, ओसार पसार, विक्री वितरण गर्न प्रतिवन्ध छ तर लेखनाथको हकमा यो कानून निरर्थक तुल्याइएको छ। सव डिभिजन वन कार्यालयका कर्मचारीहरुको प्रत्यक्ष संलग्नता र सेटिङमा झण्डै ३ सय सालका रुख ढलाएर गायव पारिएको छ ।
स्थानिय प्रत्यक्षदर्शीहरुले दिएको गोप्य सूचना पच्छयाउँदै सराङकोटले गरेको खोजमा सुकेडाँडाको वन विनासमा लेखनाथ सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत राम वहादुर वि.क. को टिम नै संलग्न रहेको खुल्न आएको छ । स्थानिय जनताले सालको रुख ढलाउँदै गर्दा इप्रका सिशुवामा खवर गरेको वताए । प्रहरीले प्र.स.नि. कृष्ण ढकाललाई खटायो । प्रसनि कृष्ण ढकाल सुकेडाँडा पुग्दा करिव डेढ सय जना रुख काट्दै ढाल्दै घिसार्दे थिए । प्रहरीले रुख काट्ने ओसार्ने सवैलाई वनवाट खेतमा झार्यो । वन कार्यालय र वडा नं. ३० का अध्यक्ष समेतलाई घटनास्थल वोलाए। सहायक वन अधिकृत रामवहादुर वि.क. र फरेस्टर नारायण प्रसाद पौडेल घटना स्थल पुगे । वडा अध्यक्ष श्रीराम पोखरेल र प्रसनि कृष्ण ढकालले सहायक वन अधिकृत राम बहादुर विकलाई वन सम्बन्धि ऐन नियम अनुसार जो जे गर्नु पर्ने हो गर्नु भन्दै जिम्मा लगाए । सुरक्षा चाहिए खवर गर्नु भन्दै प्रहरी र वडा अध्यक्ष फर्किए । त्यतिखेर सम्म आधाआधी सालका रुख वाँकी नै थिए।
वनका कर्मचारीको सेटिङ वमोजिम केहि घटना पनि नवित्दै फेरि ठूलो संख्यामा उपस्थित स्थानियले रुखमा आरो र वञ्चरो लगाए । खुदी आसपासका स्थानियले दिन रात लगाएर ओसारपसार गरी रहे । वन प्रशासन रमिते वनेर कानुनको धज्जी उडाएको हेर्दै मुख मिठाइरहयो । हेर्दा हेर्दै साल डाँडो उजाड मरुभूमि वन्न पुग्यो ।

कानुनमा के छ ?

नेपालको कानूनमा वन सम्वन्धि कानूनलाई कडा कानून मानिन्छ। आफ्नै नम्वरी जग्गामा रहेका उतिस कटुस, चिलाउने, आँपजस्ता कुकाठहरु सरकारलाई १३ प्रतिशत कर तिरेर अमिनबाट फिल्ड नापजाँच गरी कटान अनुमती लिएर रुख काट्न पाइन्छ तर सालको रुख ढाल्न, ओसार पसार वेचविखन गर्न नपाईने वन सम्बन्धी जानकारहरु वताउँछन् । आफ्नै आवादीको रुख आफ्नै घर गोठ वनाउन समेत कानूनले छुट नदिएको वनका कर्मचारी वताउँछन् । सालका रुख निजि आवादीकै कटान ओसार पसार गरिए राष्ट्रिय वन ऐन नियमानुसार कारवाही हुने वन मन्त्रालयका कर्मचारी स्रोत वताउँछ । लेखनाथ ३० मा रहेको खुदीको सालडाँडो सखाप पार्ने आदेश दिने जग्गा धनी र काटेर ओसारपसार गर्नेलाई कस्तो कानूनी कारवाही होला त्यो भने हेर्न वाँकी छ । सालडाँडा सखाप पार्ने योजनामा साना ठूला धेरै माछाहरु वल्छीको गड्योला तान्ने आसाको खेतीको कसिलो सेटिङमा परेको वुझन् धेरै प्रमाण सुरक्षित र घटनाको दृश्य परिदृश्यले त्यसलाई पुष्टि गराउँछन् ।

रुख चोरीको नाटक

गाउँ ठाउँमा कोदालोको विड चोरी भयो भने थाहा पाइन्छ । दुई डोको घाँस चोरेको उजुरी परे कानून लाग्छ तर अचम्म लेखनाथको खुदीमा दिन दहाडै करिव ३ सय वटा सालका रुख नाटकीय ढंगवाट चोरीएको हल्ला फैल्याइएको छ । जग्गा धनी मध्यका सरोज शाक्यले आफ्नो जग्गाको रुख चोरी भएको सराङकोट सँगको मोवाइल सम्वादमा वताए । रुख कसले काट्यो, कसले लग्यो आफूलाई केही थाहा नभएको वताए तर विडम्वना उनले प्रहरी कार्यालय, वन कार्यालय, वडा कार्यालय कहि कतै उजुरी भने दिएका छैनन् । उनले आफ्नो वुवाको नाममा ७ रोपनी जग्गामा सालको रुख रहेको वताए । अरु जग्गाधनी सँग भने सम्पर्क हुन सकेन् । जे होस् सुकेडाँडामा पुर्जा भएको करिव ३२ रोपनी जग्गा र केहि रोपनी पर्ति जग्गा समेतको रुख कटान ओसार पसार गरिएको छ । सालको रुख कटान गर्न कानूनी प्रतिवन्ध भएका कारण वनका कर्मचारी, जग्गा धनी र डाँडा खारेर प्लोटिङ गर्ने योजनामा रहेका व्यक्तिहरुको सेटिङमा कानुन छल्न चोरीको नाटकीय शैलीमा प्रतिवन्धित सालका रुख ढलाएर गायव पारिएका छन् ।

के छ योजना सुकेडाँडामा ?

लेखनाथ खुदी स्थित शाक्यहरु र हरि वुढाथोकी समेतको जग्गा भएको सुकेडाँडा खार्ने र सम्म पारेर घडेरी वनाउने योजना नयाँ होइन । उक्त जग्गा डेढ वर्ष पहिल्यै जग्गा व्यापारीहरुले लिएर प्लोटिङ गर्ने योजना वनेको थियो । जग्गामा टन्नै सालका रुखहरु भएको कारण डाँडा कटान र प्लेटिङ गर्न स्वीकृति रोकिएको महानगर स्रोतले वतायो । सालका रुखहरु कै कारण उक्त जग्गा कटान हुन नसकेको तितो अवस्थालाई जसरी पनि पार गर्नु पर्ने थियो । त्यसैले जग्गा धनी शाक्य परिवार लगायतले जग्गा व्यापारीलाई विक्रीको वैना भइसकेको जग्गा जसरी पनि खार्नु थियो सोही योजना मुताविक नरहे वाँस नवजे वाँसुरी गर्ने धेयले कानूनी वाधा वनेको सालका रुखहरु नियोजित ढंगले ढलाइयो र गोप्य सेटिङ वमोजिम गाउँ वासीहरुलाई काठ दाउरा जति सक्दो छिटो लैजान उर्दी जारी गरियो ।
वन उजाड वनेको छ तर सालका काटिएका फेद आलै छ जिवितै छ । कति क्यू फिट काठ दाउरा निकासी भयो फेदको गोलाई नापे हिसाव निस्किन्छ नै ।
वन मासे लगत्तै जग्गा खार्ने सिफारिस माग गर्दै एउटा समूह वडा कार्यालय र महानगर धाउन थालेको छ । वडा नं. ३० का वडा अध्यक्ष श्री राम पोखरेल जसले आखै अगाडि सालका रुखको अवैध फडानी देखेका थिए उनले कुनै पनि हालतमा सिफारिस दिन नसकिने अडान लिदै आएका छन् ।
यता डाँडा कटान अनुमती दिने निकाय पोखरा महानगरपालिका भित्र दुई खेमामा विभाजित छ। एउटा खेमा शुभलाभको जोड घटाउ गरेर वसको छ जसले डाँडा कटान अनुमती दिने पक्षमा मेयर र हाकिमसँग साउती गर्दै छ भने अर्को खेमा वन वुटा क्षेत्र मासेर कटान र प्लोटिङ गर्न दिन नहुने अडानमा छ । कसको पक्षले जित्छ त्यो हेर्न केहि समय प्रतिक्षा गर्नु पर्ने छ।
कतिपयले पोखरा एअरपोर्टलाई माटो ल्याउने भन्दै व्यापारी र एअरपोर्टको ठेकेदारको वकालत गर्दै आएका छन् । राष्ट्रिय गौरवको योजनाको ढोल पिटेर गैह्रकानूनी काम गर्ने परिपाटीको विकास गराएर स्वार्थ समूहहरु खेलोमेलोमा लागेको पाइन्छ। २२ अर्वमा ठेक्का लिएको एअरपोर्टको नाममा सेतीको दोहोन जारी छ भने अव प्लोटरको डाँडा सम्भ्याउने वहाना खोजिरहेको छ थाहा छैन त्यो क्रेन र भ्याकुमा को झुण्डिने हुन् को पुरिने हुन?
डिभिजन वन कार्यालय कास्कीले सालको वन मासेको मुद्दा अनुसन्धान गरिने वताएका छन् । डिभिजन प्रमुख धनन्जय लामिछानेले वन मुद्दा टु·ो नलागेसम्म अरु कुनै पनि सिफारिस स्वीकृति नदिने वताए । उनले सव डिभिजन वन कार्यालय लेखनाथका सहायक वन अधिकृत राम बहादुर वि.क.लाई रुखका फेद सवै नापेर अनुसन्धान गर्न निर्देशन दिएका छन् । काठ दाउरा कसले कहाँ कहाँ लगे सवै छानविन गर्न भनेका छन् ।
लेखनाथका सहायक वन अधिकृत आफैले मिलाएको सेटिङ विरुद्ध कस्तो छानविन गरेर प्रतिवेदन देलान ? घडेरी र नगद नजरानाको भेटी कहाँ सम्म पुगेको होला त्यसको पनि खोजी गर्ने राज्यको आटिलो निकाय कोही होला ? दुधको साक्षी विरालो नहोस् कानून मुठ्ठीमा लिएर धनवाद र डनवादको र साम्राज्य फैल्याउने तत्व विरुद्ध नागरिक समाज , प्रहरी प्रशासन, अख्तियार सवैको आँखा पुग्न जरुरी छ ।

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: